आयोगको अनुगमन पश्चात् एमबिबिएस सञ्चालन गर्ने तयारीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

जुम्ला । कर्णालीमै एमबिबिएस पढाई शुरु गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला चिकित्सा शिक्षा आयोगको अनुगमन कुरिरहेको छ ।
पूर्वाधार तथा जनशक्ति सहित एमबिबिएस सञ्चालनको अन्तिम तयारीमा रहेको कर्णाली प्रतिष्ठानले आयोगको अनुगमन कुरिरहेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार विश्वराज काफ्लेले एमबिबिएस सञ्चालनका लागि आयोगको अनुगमनको प्रतीक्षामा रहेको बताउनुभयो ।
प्रतिष्ठानले एमबिबिएस पढाई सञ्चालनका लागि निर्माण गरेका पूर्वाधार तथा अन्य तयारीको अवस्था बारे आयोगको टोली अनुगमन गरेपछि एमबिबिएस शुरु हुने उहाँको भनाइ छ । यही फागुनको अन्तिम सम्म आयोगको टोली अनुगमनमा आइपुग्ने र अनुगमन पश्चात् आयोगले सिट निर्धारण गरेपछि आउँदो वैशाखसम्म जुम्लामै एमबिबिएस शुरु हुने रजिस्टार काफ्लेले जानकारी दिनुभयो ।
एमबिबिएस सञ्चालनका लागि आधारभूत विज्ञान र क्लिनिक, प्राध्यापक नियुक्ति लगायतका विषयमा अनुगमनका लागि चिकित्सा शिक्षा आयोगलाई आग्रह गरिएको थियो । चिकित्सा शिक्षा आयोगको टोली अनुगमनका लागि गत पुस महिना देखि आउने भनिरहेपनि हाल सम्म नआउँदा एमबिबिएस पढाई शुरु गर्न केही ढिलो भएको प्रतिष्ठान स्रोतले जनाएको छ । तथापि चिकित्सा शिक्षा आयोग प्रतिष्ठान अनुगमनको तयारीमै रहेको बुझिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष निरेश थापाले एमबिबिएस कक्षा सञ्चालनको लागि तयारी भएको र अब अनुगमनको खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“एमबिबिएसका लागि बेसिक ८ र क्लिनिकल १४ विषय र प्राध्यापक सहितको टोली तयारी अवस्थामा छ ।
कक्षा कोठालगायत आवश्यक उपकरण समेत तयारी अवस्थामा छन् चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरे सँगै पठनपाठन शुरु गरिने छ ।” एमबिबिएस पठनपाठन जुम्लामै हुने भएपछि कर्णालीवासी उत्साहित छ ।
एमडीएमएसका लागि ५ जना विद्यार्थी भर्ना
एमबिबिएस पढाई कार्यक्रम प्रक्रियामै रहे पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीएमएको पढाई भने तत्कालै शुरु हुने अवस्थामा छन् । कर्णाली प्रतिष्ठानमा एमडीएमएस पढ्नका लागि विद्यार्थी आउदैनन भन्ने भ्रम फैलाए पनि ५ जना विद्यार्थी भर्ना भइसकेको प्रतिष्ठानका रजिस्टार विश्वराज काफ्लेले बताउनुभयो ।
निर्धारित कोठा अनुसार विद्यार्थी भर्ना भइसकेको र अब एमडीएमएसको पठनपाठन आगामी चैतबाटै शुरु हुने उहाँको भनाई छ । एमडीएमएस अन्तर्गत तीन विषयमा पठनपाठन हुने छ । हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमडीएमएस अन्तर्गत स्टाफ नर्स, एचए, बिबिएच, बिएमएस, एनेस्थेसिया गरी तीन विषयमा नियमित पठनपाठन भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्