तपाईँ सुन्दै हुनुहुन्छः

बालक मृत्यु प्रकरण : उच्च स्तरीय छानबिन टोली जुम्ला पुग्यो

जुम्ला । प्रहरीको कुटाइबाट जुम्ला गुठिचौर गाउँपालिका–३ गज्र्यांङकोटका १३ वर्षीय पदम बुढाको मृत्यु भएको घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन टोली जुम्ला पुगेको छ ।
गृह मन्त्रालयका उपसचिव माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा रहेको छानबिन समिति जुम्ला पुगेको हो । समितिमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरी छन् ।
टोली बुधवार जुम्ला पुगे लगत्तै घटनाको अनुसन्धान काम भएको छ । पहिलो चरणमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले  र पत्रकारहरुसंग छलफल गरेको थियो । अनुसन्धान नसकिँदासम्म टोली जुम्लामै बस्ने प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
अन्तिम छानबिन नहुँदासम्म टोलीले गहन रुपमा घटनाको सत्य तथ्य छानबिन गर्ने समितिका संयोजक माधवप्रसाद ढुङ्गानाले बताउनुभयो । उहाँले भन्नुभयो,“छानबिन समितिले दोषी पत्ता लगाउँछ । यही गतिमा अनुसन्धान अघि बढ्छ । भइसकेको घटनाको अनुसन्धान निष्पक्ष हुन्छ । वास्तविक पीडितको न्याय र राहतको पक्षमा छानबिन समितिको अनुसन्धान केन्द्रित हुनेछ ।”
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बालक मृत्युको घटनाबारे छानबिन गर्न छानबिन टोली आएको बताउनुभयो । समितिले गहिरो तरिकाले अनुसन्धान गरेर वास्तविक तथ्य बाहिर ल्याउनेछ । छानबिन टोली जुम्ला पुगेकोले अव निष्पक्ष छानबिन हुने प्रजिअ थापाको विश्वास छ ।
प्रशासन र पीडितका आफन्तबिच भएको वार्तापछि तत्काल छानबिन समिति गठन गर्ने, पीडितलाई राहत उपलब्ध गराउन पहल गर्ने तथा दोषीलाई कारबाही गर्ने निर्णय भएको थियो ।
छानबिन टोलीले घटनासँग जोडिएका सबै पक्षसँग छलफल तथा भेटघाट गर्ने छ । अनुसन्धानमा कुनै कसुर बाँकी नराख्ने छानबिन समितिले जनाएको छ । मृतक बालकलाई शारीरिक तथा मानसिक यातना दिएको आरोपमा प्रहरी जवान कृष्ण अधिकारीलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
मृतक बुढाले गएको माघ १८ गते मोबाइल चोरेको आरोपमा मृतक बालक पदम रोकायालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको थियो । प्रहरी कार्यालयबाट घर फर्किए लगत्तै बालकको खुट्टा र शरीर सुन्निएर नीलडाम देखिएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको र फागुन ५ गते मृत्यु भएको थियो । बालकको मृत्यु पश्चात् जुम्लामा प्रहरी र नागरिक बिच ठुलो भिडन्त समेत भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button