खप्तड घुम्न जाने पर्यटकको सङ्ख्या बढ्दै

खप्तड । कोरोना भाइरसको जोखिम घट्दै गएसँगै सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड घुम्न जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
आन्तरिक तथा छिमेकी मुलुक भारतबाटसमेत पर्यटक आउन थालेपछि पछिल्लो समय खप्तडमा चहलपहल बढ्दै गएको स्थानीय पर्यटन व्यवसायीहरूले बताउनु भएको छ ।
सुन्दर खप्तड क्षेत्रको अवलोकन गर्न हिजोआज दैनिक सयौँको सङ्ख्यामा पर्यटक त्यहाँ पुग्ने गरेको खप्तड पर्यटन विकास समिति डोटीले जनाएको छ ।
चालु आर्थिक वर्षको हालसम्म भारतीयसहित ३ हजारभन्दा बढी पर्यटकहरूले खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् ।
पछिल्लो केही दिन मात्र यता त्यहाँका घरबास तथा स–साना होटेल आन्तरिक तथा भारतीय पर्यटकका कारण भरिभराउ हुन थालेका छन् । जिल्लामा पछिल्लो समय कोरोना भाइरसको जोखिम घट्दै गएका कारण खप्तड घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको खप्तड पर्यटक विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताउनुभयो ।
खप्तडमा पर्यटकको सेवा सुविधाका लागि घरबास तथा हेलिकप्टर टुरको व्यवस्था गरिएपछि पर्यटक आउने क्रम बढेको डोटीका स्थानीय तथा त्रिवेणी एफएमका स्टेसन म्यानेजर कर्ण चन्दले जानकारी दिनुभयो ।
निकुञ्ज भ्रमण गर्न जाने पर्यटकबाट चालू आर्थिक वर्षको माघ सम्ममा कम्तीमा तीन लाखभन्दा बढी राजश्व सङ्कलन भएको जनाइएको छ । निकुञ्जमा आन्तरिक पर्यटकलाई निःशुल्क र बाह्य पर्यटकलाई प्रतिव्यक्ति ३ हजार ३९० का दरले भ्रमण शुल्क तोकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्