सल्यानमा ३७ प्रतिशत महिला घरमै सुत्केरी

सल्यान । सल्यानमा अझै स्वास्थ्य संस्थामा गएर दक्ष प्रसूति सेवा लिई सन्तान जन्माउने महिला ६३ प्रतिशत मात्र रहेको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार ३७ प्रतिशत महिला अझै पनि घरमै सुत्केरी हुने गरेका छन् । नेपाल सरकारले स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुन आउन विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याए पनि दूर दराज र परम्परागत सोचका कारण ३७ प्रतिशत महिला अहिले पनि घरमै सुत्केरी हुने गरेको कार्यालयका सूचना अधिकारी थलराज डिसीले बताउनुभयो ।
कतिपय दुर्गम गाउँका महिला अझै पनि सुत्केरी हुन अस्पताल जानुपर्छ भन्ने ठान्दैनन् । यसले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था जोखिममा पर्ने गरेको छ ।
आमा र बच्चाको स्वास्थ्यलाई ख्याल गर्दै सरकारले वषौंदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
संस्थागत स्वास्थ्य संस्थामा बच्चा जन्माउन प्रोत्साहन स्वरूप दुई हजार, नियमित चार पटक गर्भ जाँच गरे ८ सय र कर्णाली प्रदेश सरकारले थप दुई हजार गरी ४ हजार ८ सय रुपैयाँ सुत्केरी महिलाले पाउने गर्छन् ।
जिल्लाका विभिन्न ४५ स्थानमा बर्थिङ सेन्टर, एक जिल्ला अस्पतालमा सुत्केरी सेवा दिँदै आइरहेको छ । आर्थिक वर्ष २०७४/०७५ मा ५७ प्रतिशत, २०७५/०७६ मा बढेर ६० प्रतिशत र २०७६/०७७ मा ६३ प्रतिशत महिला स्वास्थ्य संस्थामा सुत्केरी हुने गरेको सूचना अधिकारी डिसीको भनाई छ ।
कार्यालयका अनुसार प्रोटोकल अनुसार चार पटक गर्भवती जाँच गराउन आउनेको सङ्ख्या ७० प्रतिशत रहेको छ भने ३ पटक मात्र गर्भवती जाँच गराउन आउनेको सङ्ख्या १४ प्रतिशत मात्र रहेको छ ।
पूर्ण गर्भ जाँच नगराएमा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्ने अस्पतालका डा. प्रदीप शर्माले बताउनुभयो । गर्भ जाँच गर्दा गर्भवती महिलामा रगतको कमी भए नभएको थाहा हुन्छ । जसले रक्त अल्पताबाट बचाउन नियमित गर्भ जाँच गर्नुपर्ने शर्माको भनाई छ ।
प्रोटोकल अनुसार चार पटक गर्भ जाँच गर्दा गर्भमा रहेको बच्चा र आमा दुवैको जोखिम उत्तिकै रहने शर्माको भनाई छ । नियमित गर्भ जाँच गर्न आए नेपाल सरकारले प्रोत्साहन स्वरूप भत्ता पनि दिने भएकाले स्वास्थ्य संस्थामा आई सुरक्षित सुत्केरी हुन आउन उहाँले आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्