नेपाल सुपर लिग (एनएसएल) वैशाख दोस्रो हप्ताबाट सुरु हुने
काठमाडौँ । नेपालको पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिता वैशाख दोस्रो हप्ताबाट सुरु हुने भएको छ ।
आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल सुपर लिग वैशाख ११ गतेबाट सुरु हुने जनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने प्रतियोगिता वैशाख २५ गतेसम्म सञ्चालन हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिगमा ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी विभिन्न शहरबाट ७ टिमको सहभागिता रहने छ । टिम र टिम मालिकको नाम भने यसै महिनाभित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा कुल १९ खेल हुने छन् । टिममा स्वदेशी र विदेशी खेलाडी राख्न पाइनेछ । खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नुपर्नेछ । लिगमा एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन् । यस्तै दुई खेलाडीले प्लेईङ सेटमा रहेर खेल्न पाउने छन् ।
खेलाडीको श्रेणी एन्फासँगको सहकार्यमा छुट्टाइने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधि विजेताले पाउने रकम भने पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले दुई वर्ष अघि नै लिग आयोजना गर्ने घोषणा गरेको थियो ।
तर, म्यानेजमेन्टका सिइओ सुदिप शर्माले रङ्गशालाको पुनर्निर्माण र कोरोना भाइरसको कारण लिग समयमा गर्न नसकेको बताउनुभयो ।
कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले लिग आयोजनाका लागि वार्षिक क्यालेन्डरमा २ महिनाको समय दिइएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्