तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीलाई पुस्तक हस्तान्तरण

सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलाई एक सामाजिक संस्थाले विभिन्न किसिमका पुस्तक हस्तान्तरण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य सहित सुरुवात गरेको ‘बुस्टिङ प्रोफेस्नालिजम क्याम्पियन’ अन्तर्गत पुस्तकालय स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले हिमालयन तारा अर्गनाइजेसनले १०५ थान पुस्तक उपलब्ध गराएको हो ।
कार्यालयका प्रहरी कर्मचारीहरू पढ्ने बानीको विकास गर्दै व्यावसायिक दक्षता वृद्धि गर्ने र सेवाग्राही तथा थुनुवालाई समेत पढ्नका लागि स्थापना गरिएको पुस्तकालयका लागि सोलुखुम्बुका युवा व्यवसायी भानुभक्त उपाध्यायको समन्वयमा संस्थाका सचिव सुरेश खड्काले प्रहरी निरीक्षक महेन्द्र दर्नाललाई पुस्तक हस्तान्तरण गर्नुभएको हो ।
पुस्तकालय बनाउने यस अभियानमा विभिन्न संस्था तथा व्यक्तिहरूले पुस्तक सहयोगमा जोडिनु हुन समेत जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आग्रह गरेको छ ।
परिवर्तित सन्दर्भमा प्रहरी जनशक्तिलाई अझ बढी व्यावसायिक, ईमान्दार, कर्तव्यनिष्ठ, लगनशील बनाउँदै सेवा प्रवाह गर्न कार्यालयले मुलुकमै पहिलो पटक मातहतका प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नका लागि यस्ता खालका प्रवर्द्धनात्मकता कार्यक्रम सुरु गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button