तपाईँ सुन्दै हुनुहुन्छः

कर्माचार्यद्वारा १६५ औँ पटक रक्तदान

झापा । मानिसले जीवनमा कति पटकसम्म रक्तदान गर्ला ? काठमाडौँ, बागबजारका प्रेमसागर कर्माचार्यले १६५ औँ पटक रक्तदान गरेर उत्तर जे पनि हुन सक्छ भन्ने कुरालाई प्रमाणित गरिदिनुभएको छ ।

झापा बिर्तामोडस्थित विराट अर्जुन उपभोक्ता सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार बिर्तामोडमा आयोजना गरेको रक्तदान कार्यक्रममा कर्माचार्यले १६५ औँ पटक रक्तदान गर्नुभएको हो ।

जिल्लामा रगतको अभाव भइरहेको बेला आयोजना गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष नवीन खरेलको आग्रहमा कर्माचार्यले झापा आएर रक्तदान गर्नुभयो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहनु भएका कर्माचार्यले १६ वर्षको उमेरदेखि रक्तदान गर्दै आएको बताउनुभयो । आफूले होश सम्हालेदेखि कुनै पनि प्रकारको औषधि सेवन नगरेको र आफूमा कुनै प्रकारको रोगव्याधी नरहेको बताउने कर्माचार्यले रगत दानबाट आफू थप स्वस्थ रहेको महसुस गर्दै आएको बताउनुभयो । ‘ए पोजेटिभ’ रक्त समूहका ५७ वर्षीय कर्माचार्यले हरेक तीन महिनामा एक पटक रक्तदान गर्ने गरेको बताउनुभयो

नेरेसो बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको कार्यक्रममा १८ जना महिला र १४७ पुरुष गरी १६५ जनाले रक्तदान गरेको संस्थाका सचिव डिल्लीराम प्रसाईँले जानकारी दिनुभयो ।

कार्यक्रममा एकै परिवारका तीन जना सदस्यले रक्तदान गर्नुभयो । संस्थाका अध्यक्ष नवीन, श्रीमती उषा र छोरा आर्यन खरेलले एकैसाथ रक्तदान गरेका हुन् । रक्तदान जीवनको सर्वोत्तम पुण्य काम भएकोले आफूले रक्तदान गरेको उषाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button