कर्णालीका १६ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा ५५ करोड बजेट विनियोजन

जुम्ला । सङ्घीय सरकारले सार्वजनिक गरेको दुई सय पर्यटकीय गन्तव्यमा कर्णालीका १६ वटा पर्यटकीय क्षेत्र छनौट भएका छन् ।
आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि गर्दै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ ओझेलमा परेका कर्णालीका १६ पर्यटकीय गन्तव्य छनौट भएका हुन् ।
छनौटमा परेका १६ पर्यटकीय गन्तव्यहरूको पर्वद्धनका लागि सङ्घीय सरकारले करिब ५५ करोड, ५५ लाख बजेट विनियोजन गरेको छ ।
जसमा विश्वकै अग्लो स्थानमा मार्सी धान फल्ने जुम्लाको पातारासीस्थित छुमचौर जिउलोको प्रवर्द्धनमा दुई करोड विनियोजन भएको पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले बताउनुभयो ।
उहाँका अनुसार पर्यटन क्षेत्र छनौट भएका स्थानीय तहले पर्यटन पूर्वाधार विकासका लागि थप ३० प्रतिशतसम्म अतिरिक्त बजेट थप्नु पर्नेछ । सोही अनुसार पातारासीले सङ्घीय सरकारको दुई करोड बजेटमा थप ३० प्रतिशत स्थानीय बजेट थपेर पर्यटन पूर्वाधार निर्माण गर्ने अध्यक्ष बोहोराको भनाई छ ।
त्यस्तै, रुकुम पश्चिमको लक्ष्मी नारायण मन्दिर र भेरी नदीमा जेट बोट सञ्चालन तथा कालापानी खानेपानी सिँचाई आयोजनामा ६ करोड ९९ लाख, त्यस्तै रुकुमको बाँफिकोट गाउँपालिकाको स्यार्पुतालमा ३ करोड ९३ लाख, चौरजहारी नगरपालिकाको मालिका पर्यटकीय क्षेत्रमा ६ करोड ५० लाख, विनियोजन भएको छ ।
साथै, हुम्लाको खार्पूनाथ गाउँपालिकाको खापूनार्थ शिवालयमा ५ करोड, सिमकोट गाउँपालिकाको रलिङ तीर्थ सडक निर्माणका लागि ५ करोड, दैलेखको विन्दवासिनी नगरपालिकाको नगर पार्क निर्माणका लागि ५ करोड छुटाइएको छ ।
भने, दैलेखकै दुल्लु नगरपालिकाको पञ्चकोषी पर्यटन क्षेत्र संरक्षणमा ७ करोड, भगवती माई गाउँपालिकाको मायाराम स्मृति पार्क निर्माण आयोजनाका लागि ३ करोड ३२ लाख, कालिकोटको रास्कोट नगरपालिका स्थित वडिमालिकादेखि देउरामालिमा २ करोड सुर्खेतको भेरीगंगा नगरपालिका–८ को दलित संग्राहालयका लागि ४ करोड ४५ लाख विनियोजन भएको छ ।
त्यस्तै, सल्यानको बनगाड कुपिण्डे तालमा ६ करोड ८१ लाख, जाजरकोटको भेरी मालिका मन्दिर निर्माणमा ३ करोड, नलगाड गाउँपालिकाको खानटाकुरा शहीद स्मृती भवन निर्माणकामा १ करोड ५० लाख, कालिकोटको खाँडाचक्र नगरपालिकाको नैनीकाध–जिउली–धर्मशाला निर्माण र चुलीमालिका मन्दिरमा १ करोड ९८ लाख, पचालझरना गाउँपालिकाको पदमार्ग निर्माणका लागि ५ करोड बजेट छुटाइएको पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कर्णाली १६ पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि सङ्घीय सरकारले करिब ५५ करोड ५५ लाख बजेट विनियोजन गरेको छ । जसमा स्थानीय तहले अनिवार्य रुपमा ३० प्रतिशत बजेट थप गर्नुपर्ने छ ।








प्रतिक्रिया राख्नुहोस्