तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पा दरबार सङ्ग्रहालयमा प्रताप शमशेरको सालिक स्थापना

पाल्पा । पाल्पामा जनरल प्रताप शमशेर राणाको अर्धकतको सालिक अनावरण गरिएको छ ।
पाल्पा दरबारको निर्माण गरेका जनरल प्रताप शमशेर राणाको पाल्पामा दरबार सङ्ग्रहालय परिसरमा सालिक अनावरण गरिएको हो ।
लुम्बिनी प्रदेशका वन, वातावरण तथा उद्योग, पर्यटन मन्त्री लीला गिरीले सालिकको अनावरण गर्नुभएको हो  ।
सालिक अनावरण गर्दै लुम्बिनी प्रदेशका पर्यटन मन्त्री गिरीले पाल्पा दरबार सङ्ग्रहालय प्रदेशकै एक मात्र सङ्ग्रहालय भएकोले प्रदेश सरकार सक्रिय भएर काममा जुटेको बताउनुभयो ।
लुम्बिनी प्रदेशको प्रमुख जाति मगर र थारुको भेषभुषा खानपान रहनसहनमा आधारित भएर सामग्रीहरु जुटाएको भए पनि अन्य किसिमका सामाग्रीहरू जुटाउने काममा सरकार लागि परेको मन्त्री गिरीले बताउनुभयो ।
दरबार सङ्ग्रहालयको गुरु योजना अनुसार प्रदेश सरकारले बजेट छुट्टाउँदै काम गर्दै जाने, प्रवेश गर्ने बिन्दुमा आकर्षक गेट निर्माण गर्ने, उत्तर तर्फको मूल ढोकामा मर्मत सम्भारको लागि पुरातत्त्व विभागसँग सहकार्य भइरहेको मन्त्री गिरीले बताउनुभयो ।
दरबार निर्माणकर्ता प्रताप शमशेरको योगदानलाई सबैले स्मरण गरुन्, इतिहासबारे सबैलाई जानकारी होस् भनी सालिक निर्माण गरिएको मन्त्री गिरीको भनाई छ ।
उहाँले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि पर्यटकहरू बढ्ने भएकोले अहिलेदेखि नै प्रमुख पर्यटकीय गन्तव्यहरूसँग लिंकअप गर्नको लागि प्रदेश सरकारले जिल्ला जिल्लामा पर्यटन पूर्वाधारको काम गर्दै आएको बताउनुभयो ।
पाल्पा पर्यटकीय हिल स्टेशन रहेकोले पर्यटकीय केन्द्रको रुपमा विकास गर्न स्थानीयवासी पनि सक्रिय भएर लाग्नु पर्नेमा जोड उहाँको जोड थियो ।
उहाँले पर्यटकहरूलाई आकर्षण गर्न स्थानीयवासीले अतिथि सत्कारदेखि प्याकेज तथा संस्कृतिको विषयमा जोड दिनुपर्ने बताउनुभयो ।
पाल्पा दरबार सङ्ग्रहालयका सबै कोठाहरू सङ्ग्रहालयकै रुपमा प्रयोग गरिने मन्त्री गिरीले भनाई छ  ।
हाल पाल्पा दरबार सङ्ग्रहालयमा लुम्बिनी प्रदेशका प्रमुख धार्मिक स्थानहरूको फोटो र जानकारी, नेपाल अङ्ग्रेज जितगढी युद्धका सामाग्रीहरू, पाल्पा जिल्लाबाट सङ्कलन गरिएका पुराना सामाग्रीहरू राखिएका छन् ।
सङ्ग्रहालयको पहिलो तलामा मगरी तथा थारु विषयका सामाग्रीहरू, दोस्रो तलामा नेपाली सेना गोरख दल गणले पृथ्वीनारायण शाहदेखि हालसम्मका सैनिक सम्बन्धी ऐतिहासिक तथा पुरातत्त्व महत्त्वका जानकारी राखिएको छ ।
आगामी दिनमा सङ्ग्रहालयमा सेनकालिन संस्कृति, जातीय संस्कृति र परम्परागत कला कौशलहरू राखिने छ ।
कार्यक्रममा डिभिजन वन कार्यालय पाल्पाका डिभिजन प्रमुख डा. मोहन पौडेलले पाल्पा दरबारमा भइरहेको कामको बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button