तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन

मकवानपुर । मकवानपुरमा बुधवार भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको छ । आज एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले आयोगको कार्यालय उद्घाटन गर्नुभएको हो ।

कार्यालय उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले मकवानपुर जिल्लाको भूमि सम्बन्धी समस्या समाधानमा आयोगले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । भूमि सम्बन्धी समस्यालाई अब प्रभावकारी रूपमै समाधान गर्ने गरि काममा खटिन आग्रह गर्नुहुँदै उहाँले जिल्ला समन्वय समितिका तर्फबाट आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिमा एक जना अध्यक्ष, एक जना विज्ञ सदस्य र एक जना सदस्य गरी तीन जना हुनुहुन्छ । यस्तै आयोगमा डिभिजन वन कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला मालपोत कार्यालयका प्रमुख सदस्य तथा जिल्ला समन्वय अधिकारी सदस्य सचिव हुनुहुन्छ । कार्यालय उद्घाटनसँगै प्रमुख खुलालले आयोगका अध्यक्ष एवम् सदस्यहरूलाई कार्यकक्षमा स्वागत समेत गर्नुभएको थियो ।

कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष रामेश्वर रानाले आयोगमार्फत जिल्लामा भूमिविहीनलाई जग्गा, लालपुर्जा लगायत भूमि सम्बन्धी समस्याको समाधानलाई प्रभावकारी रुपमा अघि बढाउने बताउनुभयो ।

उहाँले जिल्लामा भूमि सम्बन्धी समस्या समाधानका लागि सङ्घीय सरकारमार्फत ८ वटा पालिकामा सम्झौता भएर काम समेत सुरु भइसकेको र बाँकी पालिकाहरूमा समेत छिट्टै काम सुरु गरिने बताउनुभयो । जिल्लाको कैलाश र ईन्द्रसरोवर गाउँपालिका बाहेक स्थानीय तहमा भूमि सम्बन्धी तथ्याङ्क सङ्कलन भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button