मुख्यमन्त्री राउतद्वारा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उद्घाटन
जनकपुरधाम । प्रदेश २ नंं का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उद्घाटन गर्न पाएकोमा खुसी व्यक्त गर्नुभएको छ ।
प्रादेशिक अस्पतालको प्राङ्गणभित्र रहेको प्रतिष्ठान कार्यालयको मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकास मन्त्री नवलकिशोर साह तथा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले संयुक्त रुपमा आज उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रतिष्ठानमा सबै विषयको अध्ययन अध्यापन हुने बताउँदै यसै वर्षदेखि चिकित्सा शास्त्रतर्फको स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री राउतले प्रदेश २ स्वास्थ्य तथा मानव सूचकाङ्क निक्कै पछाडि रहेको बताउँदै स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रतिष्ठानको स्थापनाले महत्त्वपूर्ण योगदान दिने बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेशवासीको ठूलो सपना पुरा गर्न पाएकोमा खुसी व्यक्त गर्दै प्रतिष्ठानको स्थापनाले प्रदेशका अस्पतालहरूमा रहेको चिकित्सक अभाव अन्त्य भएर सबै रोगको उपचार हुने बताउनुभयो ।
प्रतिष्ठानका उपकुलपति एवं वरिष्ठ चिकित्सक प्राध्यापक डा.राम केवल साहले प्रदेश २ को स्वास्थ्य क्षेत्रको कमजोर रहेको बताउँदै स्वास्थ्य सेवाको स्तर सुधारको लागि हर सम्भव प्रयास प्रतिष्ठानबाट हुने बताउनुभयो ।
प्रदेश सरकारले माघ १८ गते मुख्यमन्त्री कुलपति रहने गरी प्रतिष्ठानको उपकुलपतिमा डा.राम केवल साह, रजिस्टारमा डा.विनोद यादव र रेक्टरमा डा.अङ्कुर साहलाई नियुक्त गरेको थियो ।
प्रदेश नम्बर २ को प्रदेशसभाबाट कार्तिक २ गते मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न पारित विधेयक प्रदेश प्रमुख तिलक परियारले गत कार्तिक २५ गते प्रमाणीकरण गरेपछि ऐन कार्यान्वयन भएर प्रतिष्ठानले स्वरूप ग्रहण गर्न थालेको हो ।








प्रतिक्रिया राख्नुहोस्