तपाईँ सुन्दै हुनुहुन्छः

ध्वनि प्रदूषणविरुद्ध वडा प्रहरी कार्यालयको अभियान

बाँके । बाँकेको वडा प्रहरी कार्यालय नेपालगन्जले ध्वनि प्रदूषणविरुद्ध अभियान थालेको छ । सडकमा जथाभाबी अन्यलाई असहज गराउने खालको ध्वनि निकाल्ने तथा बजाउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिन थालेको हो ।

वडा प्रहरी कार्यालय नेपालगन्जले सोमबार र मङ्गलवार गरी २ दिनमा ४ वटा मोटरसाइकल, ३१ वटा इरिक्सा र पेट्रोल अटो रिक्सा नियन्त्रणमा लिएर साउन्ड बक्स तथा स्पिकरहरू निकालिएको वडा प्रहरीले जानकारी दिएको छ ।

ट्राफिक प्रहरी कार्यालय बाँकेले यसअघि ध्वनि प्रदूषण विरुद्धको अभियान थालेपनि बिचमै छाडेको थियो । हाल ट्राफिक प्रहरीले अभियानलाई बेवास्ता गर्दै आउँदा सहरको अवस्था कोलाहल पूर्ण भइरहेको अवस्थामा वडाले आफ्नो कार्यक्षेत्रभित्र ध्वनि प्रदूषणविरुद्ध पहल गरेको हो ।

वडा प्रहरी कार्यालयले दिएको जानकारी अनुसार वडाबाट खटिएको प्रहरी टोलीले नेपालगन्जको विभिन्न स्थानबाट ३० वटा इरिक्सा र १ वटा पेट्रोल अटो रिक्सामा ठुलो आवाजमा गीत बजाई सवारी बसाई ओसारपसार गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको इरिक्सामा जडान गरिएका साउन्ड बक्स तथा स्पिकरहरू खोल्न पठाई अब उप्रान्त त्यस्ता किसिमका गल्ती कमीकमजोरी पुनःनदोहोर्याउन सम्झाएर चालकहरूलाई छाडिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button