चुनावको तयारीमा जुट्यो जिल्ला निर्वाचन कार्यालय तनहुँ

तनहुँ । संसद विघटनपछि देशभर राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि पक्ष र विपक्षमा बहस तथा चर्चा परिचर्चा भइरहेका छन् ।
यही क्रममा जिल्ला निर्वाचन कार्यालय तनहुँ भने चुनावको तयारीमा जुटेको छ । निर्वाचन हुने वा नहुने भन्ने विषयमा विवाद भइरहँदा सरकारले घोषणा गरेको वैशाख १७ र २७ को निर्वाचनको तयारीमा कार्यालय जुटेको छ ।
अहिले जिल्लामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालनको तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश शर्माले जानकारी दिनुभयो । अहिले अद्यावधिकको काम भईरहेको उहाँको भनाई छ ।
२०७४ सालमा सम्पन्न निर्वाचनमा जिल्लाभर २ लाख ११ हजार ३९६ मतदाता रहेकोमा गत पुस ५ गते सम्म जिल्लामा २ लाख ३१ हजार ४२० मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी शर्माले बताउनुभयो । यस्तै जिल्लाभर २ सय ८४ वटा मतदान केन्द्र र १ सय ३६ वटा मतदान स्थल निर्धारण गरिएको शर्माले जानकारी दिनुभयो ।
‘सरकारले वैशाखमा गर्ने भनेर घोषणा गरिएको निर्वाचनको तयारी शुरु गरेका छौँ, नयाँ मतदाता नामावली सङ्कलन कार्य गत पुस ६ गते देखी नै स्थगित गरिसकेका छौँ, तर गत पुस ५ गते सम्म १८ वर्ष उमेर पुगेका र फोटो सहितको मतदाता नामावली भएको सबैले मतदान गर्न पाउँछन् ।’ उहाँले भन्नुभयो ।
मतदाता नामावलीमा मतदाताले आफ्नो नाम विवरण हेर्न एवं अद्यावधिक गर्न, मतदाता नामावलीमा हुने दोहोरोपना तथा त्रुटि घटाउन, हालसम्म जिल्लामा सङ्कलित मतदाता नामावलीलाई वैधानिकता दिन र आगामी वैशाखमा हुने निर्वाचनको लागी अद्यावधिक मतदाता नामावली तयार पर्ने उद्देश्यले मतदाता नामावली अद्यावधिकको काम शुरु गरिएको कार्यालयकी कम्प्युटर अपरेटर दुर्गा माया आलेले बताउनुभयो । उहाँले भन्नुभयो ’गाउँपालिकारनगरपालिकाबाट प्राप्त तथ्याङ्ग सफ्टवयरमा अपडेट गर्दै काम भईरहेको छ ।
यसैबीच जिल्लाको एउटा मतदानस्थललाई सार्ने निर्णय पनि भएको छ । व्यास नगरपालिका–९ चण्डीथानमा रहेको नारायणचौर आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई बसाहास्थान माध्यामिक विद्यालयमा सारिएको छ ।
यस्तै बन्दीपुर(२ को शान्ति आधारभुत विद्यालय पार्चेको ठाउँमा सेरा आधारभुत विद्यालय र व्यास(१० दुम्सीचौरको भानु माविको स्थानमा गणेश बालमिलन आधारभूत विद्यालय दुम्सिकोटलाई नयाँ कायम गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्