‘नागरिक अधिकार, लोकतन्त्र र सङ्घीय गणतन्त्रको संस्थागत विकासका लागि पत्रकार महासङ्घ प्रतिबद्ध’

बीरगंज । नेपाल पत्रकार महासङ्घका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले नागरिक अधिकार, लोकतन्त्र र सङ्घीय गणतन्त्रको संस्थागत विकासका लागि पत्रकार महासङ्घ प्रतिबद्ध रहेको बताउनु भएको छ ।
नेपाल पत्रकार महासङ्घ प्रदेश नम्बर २ को दोस्रो साधारण सभाको आज वीरगंजमा उद्घाटन गर्नुहुँदै केन्द्रिय अध्यक्ष आचार्यले एउटै चुनावबाट जिल्ला प्रदेश र केन्द्रिय समितिको चयन गर्ने नयाँ प्रावधान महासङ्घले यसपालिबाट सुरु गरेको बताउनुहुँदै महासङ्घलाई थप समावेशी बनाउन महिला सञ्चारकर्मीबाट दुई जना थप हुने गरी विधान सच्याइएको जानकारी दिनुभयो ।
कार्यक्रममा महासङ्घका महासचिव रमेश विष्टले महासङ्घ समावेशी, पारदर्शी र सबै वर्ग समुदायका सञ्चारकर्मीको छाता सङ्गठन भएको कुरामा जोड दिँदै सरकारले सामाजिक सञ्जाल र अनलाइनहरूलाई नियन्त्रण गर्न विधेयक ल्याएमा त्यसको प्रतिबद्ध गरिने बताउनुभयो ।
महासङ्घका सचिव रामजी दहालले नागरिक हक अधिकार विधिको शासन, भ्रष्टाचार नियन्त्रणमा सञ्चारकर्मीको भूमिका अहम् रहेको कुरामा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बन्द्री सिग्देल, महासङ्घ पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, वीरंगज महानगरपालिकाका नगर प्रमुख मेयर विजय सरावगी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा २५ हजार राशिको प्रादेशिक पत्रकारिता पुरस्कार २०७६ बाट नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झा र प्रादेशिक पत्रकारिता २०७७ बाट नेपाल पत्रकार महासङ्घ पर्साका पूर्व अध्यक्ष शत्रुघन नेपाललाई पुरस्कृत एवम् सम्मान गरिएको छ ।
कार्यक्रममा बीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीलाई कोभिड नियन्त्रणमा सहयोग गरेको भन्दै प्रशंसा पत्रसहित सम्मानित गरिएको थियो ।
त्यसै गरी, प्रदेश २ का आठ जिल्लामा लामो समयदेखि पत्रकारिता गर्दै आएका प्रत्येक जिल्लाका एक÷एक जना गरी ८ जना अग्रज पत्रकार लाई दोसल्ला ओढाएर प्रशंसा पत्रसहित सम्मान गरिएको छ ।
सम्मानित हुनेमा पर्साका शेषमन पण्डित , बाराका रामेश्वर मेहता, रौतहटबाट विनयलाल दास, सर्लाहीबाट रोशन न्यौपाने, महोत्तरीबाट रबिन्द्र उप्रेती, धनुषाका अजय झा, सप्तरीबाट चन्द्रदेव कान्ति र सिराहाबाट प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा रहेका छन् ।
सोही अवसरमा होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंजका अध्यक्ष हरि पन्तलाई पनि सम्मान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्