टिपरको ठक्करबाट राईको मृत्यु, शव उठेन, अरुण तेस्रो आयोजनाको काम अवरुद्ध
सङ्खुवासभा । अरुण तेस्रो आयोजनाको टिपरको ठक्करबाट मृत्यु भएका खड्ग बहादुर राईका आफन्तले क्षतिपूर्तिको माग राख्दै २४ घण्टा बितिसक्दा समेत शव उठाएका छैनन् ।
शुक्रवार बिहान साढे ९ बजे सङ्खुवासभाको मकालु गाउँपालिका –५ फ्याक्सिन्दा बेसीमा टिपरको ठक्करबाट राईको मृत्यु भएको थियो ।
मृतक राईका आफन्तले घाइतेको उपचार, बालबच्चाको सम्पूर्ण पढाइ खर्च ब्यहोर्ने माग गर्दै जलविद्युत आयोजनाको काम समेत ठप्प पारेका छन् ।
टिपरको ठक्करबाट मकालु–३ हेदाङ्नाका ४२ वर्षीय खड्ग बहादुर राईको घटनास्थलमा नै मृत्यु भएपछि स्थानीय आन्दोलित भएका हुन् ।
भारत विहार प्रदेशको ७६१० नम्बरको टिपरले को२३प ४८१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिनुभयो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएकी राईकी श्रीमती प्रेमकुमारी राईको उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।
प्रहरीले टिपर चालक काभ्रेको नमोबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाई र टिपरलाई नियन्त्रणमा लिएको जनाएको छ ।
मृतक राई राजारानी आधारभूत विद्यालय मकालु–३ का कार्यालय सहयोगी र गम्भीर घाइते प्रेमकुमारी राई सोही विद्यालयकी बाल शिक्षिका हुन् । उनीहरू गाउँपालिका केन्द्रमा नुममा सञ्चालन भइरहेको तालिममा सहभागी हुन जाँदै गर्दा दुर्घटना भएको थियो ।
टिपर ब्याक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको र ठक्कर दिएको थाहा पाएपछि पुन टिपरले पेलेर राईको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
पीडितका आफन्तले एउटा भारतीय नम्बर प्लेटको गाडी, टिपर र जयप्रकाश एसोसिएट कम्पनीको कार्यालयमा तोडफोड र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
स्थानीय आन्दोलित भएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी नवराज मल्ल सहितको टोली शुक्रवार साँझ घटनास्थल पुगेको थियो ।
स्थानीयले उचित क्षतिपूर्तिको माग गर्दै जलविद्युत् आयोजनामा अवरोध गरेका छन् । स्थानीयले उत्तर दक्षिण कोसी सडक अन्तर्गतको फ्याक्सीन्दा सडक समेत अवरुद्ध पारेका छन् ।








प्रतिक्रिया राख्नुहोस्