तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय बालुवा तस्करको आक्रमणबाट दुई सशस्त्र प्रहरी घाइते

वीरगंज । पर्साको पिपलडाँडीस्थित ओरिया खोलाबाट भारतीय तस्करहरूले नेपाली भूमिका प्रवेश गरी अवैध रुपमा बालुवा लैजाने क्रममा आज बिहान सशस्त्र प्रहरीले तस्कर समूहलाई नियन्त्रणमा लिन खोज्दा दोहोरो झडप भएको छ ।
झडपको क्रममा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइतेहरूको नारायणी अस्पतालमा उपचार भइरहेको छ । पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपलडाँडीस्थित ओरिया खोलाबाट बालुवा उत्खनन गरी भारततर्फ लगी रहेको अवस्थामा ३ वटा ट्याक्टरलाई सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएपछि तस्कर समूहले प्रहरी माथि आक्रमण गरेको थियो ।
आक्रमणको क्रममा सशस्त्र प्रहरी जवान आयुष राय यादव र महेश यादव घाइते भएका छन् । आयुषको देब्रे कानमा गम्भीर चोट लागेको र १८ वटा टाँका लगाउनु परेको र नरेशको देब्रे हातको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको अस्पतालले जनाएको छ ।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिपडारीमा पर्ने ओरिया खोलाबाट वर्षेनी भारतीय बालुवा तस्करले बालुवा उत्खनन गरेर लैजाने गरेका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेव पट्टी र पिडारीगुठीको संयुक्त टोलीले तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा झडप भएको थियो ।
ट्याक्टर खोलामा फसेपछि भारतीय गाउँ गदियानी भंगहाका बासिन्दा खोलामा आई ट्याक्टर छुटाउन खोज्दा झडप भएका थियो । भारतीयहरूले लाठी, भाटा, बेल्चा तथा ढुङ्गाले हान्न थालेपछि स्थिति तनावग्रस्त बनेको स्थानीय बासिन्दाले बताएका छन् ।
झडप पछि प्रहरी नियन्त्रणमा रहेका ट्याक्टर भारतीयहरूले खोसेर लगेका छन् । ओरिया खोलामा वर्षौँदेखि नेपाली भूमिमा प्रवेश गरी नदीजन्य पदार्थ उत्खनन गरी लैजाने क्रम नरोकिँदा त्यस क्षेत्रका स्थानीय बासिन्दा बर्षौ देखि प्रभावित भएका छन् ।
सशस्त्र प्रहरीमाथि आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नम्बर १३ गण वीरगंजबाट डिएसपीको कमान्डमा सशस्त्र प्रहरीको थप बल पठाइएको र उत्पन्न समस्या समाधानका लागि भारतीय एसएसवी फोर्ससँग समन्वय भएको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button