पाल्पाको रामपुरमा चिडियाखानासहितका पार्क निर्माण गरिने

पाल्पा । पाल्पाको रामपुरमा चिडियाखाना सहितको ज्याग्दी पार्क निर्माण गरिने भएको छ ।
बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउनका लागि पर्यटकीय स्थल निर्माण गरी पर्यटन प्रवर्द्धन गर्नका लागि रामपुर नगरपालिकाले चिडिया घर सहितको पार्क बनाउन विस्तृत परियोजना अध्ययन (डिपिआर) तयार पारेको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।
पाल्पाको रामपुर नगरपालिका वडा नं. ६ मा रहेको ज्याग्दी सामुदायिक वनमा पनि वन क्षेत्रलाई घुम्न लायकको पर्यटकीय क्षेत्र निर्माणका लागि ज्याग्दी पार्क तथा चिडियाखाना निर्माण गरिने उहाँले बताउनुभयो ।
५ करोड १३ लाख ९४ हजार ४ सय ७३ रुपैयाँको लागतमा पार्क तथा चिडियाखाना निमाणर्को लागि गोल्डेन एरा कन्सल्टेन्सि प्रावि कुपण्डोल ललितपुरले डिपिआर तयार गरेको हो ।
ज्याग्दी बृहत् पार्क तथा चिडियाखाना विकास समितिले रामपुर नगरपालिकालाई डिपिआर तयार गरेर हस्तान्तरण गरेको छ ।
पार्क निर्माणमा रामपुर नगरपालिकाले सक्दो सहयोग गर्ने नगर प्रमुख थापाले प्रतिबद्धता जनाउँदै ठुलो लागत लाग्ने भएकाले यसका लागी प्रदेश सरकार, केन्द्र सरकार , पर्यटन बोर्ड लगायत विभिन्न निकायमा पनि बजेट माग गर्न आवश्यक रहेको बताउनुभयो ।
पार्क निर्माण गरे रामपुरको गहना हुने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई आर्थिक लाभ लिन सकिने रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले बताउनुभयो ।
साथै उहाँले डिपिआर बनाउने तर कार्यान्वयन नगर्ने समस्या रहेकाले निर्माण सम्पन्न गर्नका लागि सबै लाग्नु पर्ने बताउनुभयो ।
डिपिआर हस्तान्तरण गर्दै ज्याग्दी बृहत् पार्क तथा चिडियाखाना विकास समितिका अध्यक्ष ओम प्रकाश बस्यालले यसको निर्माणले पर्यटन विकास मात्र नभई भोलि नगरपालिकाबाट उपमहानगरपालिकामा स्तरोन्नति हुँदा अपरिहार्य सूचकको रुपमा पनि हुने बताउनुभयो








प्रतिक्रिया राख्नुहोस्