तपाईँ सुन्दै हुनुहुन्छः

स्वर्गीय बुबाको नाममा शैक्षिक अक्षयकोष स्थापना

दोलखा ।  जिल्ला समन्वय समिति दोलखाका सदस्य एवं युवा समाजसेवी बिदुर शर्माले दोलखाको मेलुङ गाउँपालिकामा रहेको ६ वटा सामुदायिक विद्यालयमा आफ्नो स्वर्गीय पिता हरिशङ्कर उपाध्यायको नाममा शैक्षिक अक्षयकोष स्थापना गर्नुभएको छ  ।
उक्त अक्षयकोषको आम्दानीले विद्यालयमा अध्यनगर्ने विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति प्राप्त होस् भन्ने आफ्नो उद्देश्य रहेको अक्षयकोषका संस्थापक अध्यक्ष बिदुर शर्माले बताउनुभयो । स्व. हरिशङ्कर उपाध्याय अक्षयकोषले मेलुङ गाउँपालिकाको ११ वटा विद्यालयमा अक्षयकोषको स्थापना गर्ने योजना बनाए अनुसार अहिलेसम्म ६ वटा विद्यालयमा अक्षयकोष स्थापना गरेको र बाँकी पाँच वटा विद्यालयमा पनि चाँडै अक्षयकोष स्थापना गर्ने कोषका सचिव कृष्ण शर्माले बताउनुभयो ।
स्व. हरिशङ्कर उपाध्याय अक्षयकोषले अहिलेसम्म मेलुङ गाउँपालिकाको लक्ष्मी मावि घ्याङ, भुमेस्थान मावि घ्याङ, चर्नावती निमावि घ्याङ, कालिका मावि सुकाठोकर, सत्यश्वर मावि पवटी र त्रिभुवन मावि मेलुङमा अक्षयकोष स्थापना गरेको छ । अक्षयकोष स्थापना गरिएको ६ वटा विद्यालय मध्य पाँच वटामा एक लाख पाँच हजार रुपैयाँको अक्षयकोष राखिएको र त्रिभुवन मावि मेलुङमा एक लाख ५१ हजारको अक्षयकोष राखिएको कोषका अध्यक्ष बिदुर शर्माले बताउनुभयो ।
स्व. हरिशङ्कर उपाध्याय अक्षयकोषको तर्फबाट प्रत्येक विद्यालयलाई खेलकुद सामग्री, १५ जना विपन्न तथा जेहेन्दर विद्यार्थीलाई एक हजार रुपैयाँ छात्रवृत्ति, शैक्षिक सामग्री र झोला समेत वितरण गरिएको छ । त्रिभुवन मावि मेलुङमा बिहीबार अक्षयकोष स्थापनाको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी रामहरि श्रेष्ठलाई एक लाख ५१ हजारको चेक हस्तान्तरण गरिएको थियो भने विद्यार्थीहरूलाई खेलकुद सामग्री, शैक्षिक सामग्री र छात्रवृत्ति प्रदान गरिएको थियो ।
मेलुङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कुसुम लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष हिराकुमार थोकर, वडा नम्बर ७ का वडा अध्यक्ष नवराज खड्का, कोषका अध्यक्ष बिदुर शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरि श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button