तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा १४ अतिविपन्न परिवारलाई घर हस्तान्तरण                       

 

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर २ कनकपट्टीमा अतिविपन्न १४ परिवारलाई घर हस्तान्तरण गरिएको छ ।

शम्भुनाथ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दुर्गानन्द भगतको अध्यक्षता तथा प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्यमा मङ्गलवार आयोजित एक समारोहका बीच अतिविपन्न दलित परिवारलाई घर हस्तान्तरण गरेको हो ।

महुली सामुदायिक विकास केन्द्र, ह्याबिटेट फोर हुमानिटी नेपाल र शम्भुनाथ नगरपालिकाको संयुक्त साझेदारीमा निर्मित घर मन्त्री साहले घरधनीलाई साँचो प्रदान गरी हस्तान्तरण गर्नुभएको हो । 

घर हस्तान्तरण गर्दै मन्त्री साहले घरलाई सुरक्षा गरी उपयोगमा ल्याउन घर धनीलाई आग्रह गर्नुभयो । अतिविपन्न गरिब दलितका लागि आवास निर्माण गरेको भन्दै मन्त्री साहले सहयोगीहरूलाई धन्यवाद दिनुभयो ।

घर हस्तान्तरण कार्यक्रममा महुली सामुदायिक विकास केन्द्रका निर्देशक प्रभु नारायण चौधरी, ह्याबिटेट हुमानिटी नेपालका प्रबन्धक रामप्रकाश दनुवार, इन्जिनियर तृप्ति महासेठ, प्रस्तुति केसी, महुली समुदायका कार्यक्रम संयोजक चन्द्र नारायण चौधरी लगायतको उपस्थिति थियो ।

कार्यक्रममा छाना कार्यक्रम अन्तर्गत सञ्चालित तथा निर्मित सामुदायिक आवास र हिल्टी बाँस आवसमा प्रति घर ३ लाख ९४ हजार लगानी भएको जनाएको छ । बाँस तथा स्थानीय श्रोत साधन र श्रमको बढी उपयोग गरी बनाएकाले घर निर्माणमा कम लगानी लागेको महुली सामुदायिक विकास केन्द्रले जनाएको छ ।

कनकपट्टीमा ३४ परिवारका लागि बनेको घरमध्ये हिल्टी बाँस आवास योजनाका १४ घर अति विपन्न गरिब दलित परिवारलाई हस्तान्तरण गरिएको  महुली सामुदायिकका निर्देशक चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button