मानहुँकोटको पर्यटकीय प्रवर्द्धन गर्न नगरप्रमुखको अध्यक्षतामा सार्वजनिक निजी साझेदारी समिति गठन

तनहुँ । तनहुँको व्यास नगरपालिकाले सार्वजनिक निजी साझेदारी समिति गठन गरेको छ । नगर कार्यपालिकाको आइतबार बसेको बैठकले नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा ७ सदस्यीय पर्यटकीय प्रवर्द्धनका लागि उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।
नगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐन, २०७७ ले गरेको व्यवस्था गरे बमोजिम पर्यटकीय गन्तव्यको रुपमा प्रचार प्रसार भइरहेको व्यास नगरपालिका वडा नं. ५ स्थित मानहुँकोटको पर्यटकीय प्रवर्द्धनका लागि समिति गठन गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, बैठकले आज माघ २७ गते हुने नगरपालिकाको ३४ औँ नगर सभामा पेश गर्ने गरी संशोधित नीति तथा कार्यक्रम, संशोधित आर्थिक ऐन, २०७७, संशोधित विनियोजन ऐन, २०७७ लगायत अन्य विभिन्न कानुनहरू सम्बन्धी विधेयक प्रस्तावहरू पारित गरेको छ ।
बैठकमा नगरपालिकाको वडा सिमाना हेरफेर गर्नका लागि उपप्रमुख मीरा जोशीको संयोजकत्वमा गठित अध्ययन समितिले पेश गरेको प्रतिवेदन उपर छलफल गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
अध्ययन समितिले पेश गरेको प्रतिवेदन नगर सर्वदलीय संयन्त्रमा छलफल गराई प्राप्त हुन आउने निष्कर्ष सहित आवश्यक निर्णयका लागि नगर सभामा पेश गर्ने बैठकले निर्णय गरेको छ ।
त्यस्तै, राष्ट्रिय एकिकृत सूचना प्रणाली पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७७ संशोधन सहित पारित गर्ने निर्णय बैठकले गरेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्