प्रदेश नंं २ को राजधानी, राजमार्ग तथा सीमानामा सिसी क्यामरा जडान गर्ने तयारी
जनकपुरधाम । प्रदेश नंं २ को अस्थायी राजधानी जनकपुरधामलाई सुरक्षित बनाउनका लागि प्रवेश विन्दुहरूमा अत्याधुनिक प्रविधि युक्त सिसी क्यामरा जडान गर्ने तयारी भइरहेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनकपुरधाममा प्रवेश गर्ने विन्दुहरूमा जडान गर्ने हाइटेक प्रविधिको सिसी क्यामराले राजधानी प्रवेश गर्ने तथा बाहिर जानेको जिल्ला प्रहरी कार्यालय धनुषा तथा प्रदेश प्रहरी कार्यालयले सोझै अनुगमन गर्ने र यसले अपराध नियन्त्रणमा ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्रालयले राजमार्ग सुरक्षा तथा नेपाल भारतको प्रवेश विन्दुमा पनि सिसी क्यामरा जडान गर्ने तयारी गरेको र यसका लागि चाँडै आशय पत्र प्रकाशित गर्ने मन्त्रालयका प्रवक्ता एवं उपसचिव अवध किशोर कुशवाहाले जानकारी दिनुभयो ।
उपसचिव कुशवाहाले अहिले मन्त्रालयले छुटाएको १ करोड ४९ लाख बजेट पर्याप्त नभएकाले थप बजेट निकासाका लागि आर्थिक विकास तथा योजना मन्त्रालयसँग माग पनि गरेको पनि जानकारी गराउनुभयो ।
खास गरेर जनकपुरधाम प्रवेश गर्ने जनकपुर – ढल्केवर सडक खण्डको मुलेजिया, जनकपुर जटही सडकको एयरपोर्ट, जनकपुर भिठामोड सडकको बस पार्क, कुर्था, तथा कदम चौकमा गरेर पाँच ठाउँमा उच्च प्रविधिको सिसी क्यामरा जडान गरेर प्रत्यक्ष रुपमा अनुगमन गर्ने भएको छ ।
यसले जनकपुरधाममा प्रवेश गर्ने अपराधी तथा चोरीका सामान एवं सवारी साधनलाई सजिलैसँग पक्राउ गर्न सकिने भएको छ ।
यसै गरी नेपाल भारतको सीमा नाका वीरगंजको भन्सार, पूर्वको सप्तरी जिल्लाको कुनौली भन्सार नजिकमा सिसी क्यामरा जडान गर्ने भएको छ ।
यसले भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूको बारेमा निगरानी गर्न मिल्ने भएको छ ।
यसै गरी पूर्व पश्चिम लोक राजमार्गको बाराको चुरीयामाई, महोत्तरीको बर्दिवार, सप्तरीको भारदहमा पनि रडारसहितको सिसी क्यामरा जडान गरेर सवारी साधनको निगरानीका साथै गाडीको गतिको मापन गर्ने भएको छ । यसले सवारी दुर्घटनामा पनि कमी आउने आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले बताउनुभयो ।
खास गरेर यो कामकाज चाडै सुचारु हुने भएको मन्त्रालयले जनाएको छ । यसका लागि सर्वेको काम सकिएको यसै सातामा नै आशय पत्र प्रकाशित गर्न लागेको मन्त्रालयले पनि जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्