परवानीपुरमा झन्डै साँढे ६ अर्बको लगानीमा स्टिल उद्योगको स्थापना
वीरगञ्ज । वीरगञ्ज पथलैया औद्योगिक करिडोर अन्तरगत पर्साको परवानीपुरमा झन्डै साँढे ६ अर्बको लगानीमा हालसम्मको नेपालकै सबै भन्दा ठूलो सर्वोत्तम स्टिल उद्योगको स्थापना भएको छ ।
औद्योगिक घराना सौरभ समूहले सिर्सिया परवानीपुर सडक खण्डमा टिएमटी फलामे डन्डी बनाउने कच्चा पदार्थ विलेट उत्पादन गर्नका लागि उद्योगको स्थापना गरेको सौरभ समूहका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिनुभयो ।
उद्योगको ८० प्रतिशत काम सम्पन्न भइसकेको र आगामी वैशाखको पहिलो हप्ता देखि बिलेट र तेस्रो हप्तादेखि टिएमटी डन्डी उत्पादन गर्ने समूहका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिनुभयो । बिलेट र डन्डी दुवै सर्वोत्तम ब्रान्डबाट बजारमा पठाइने समेत न्यौपानेले बताउनुभयो ।
अहिले देशभर सञ्चालित अधिकांश स्टिल उद्योगहरूले भारतबाट बिलेट आयात गरेर डन्डी उत्पादन गर्दै आइरहेको हुँदा बिलेटको आयात प्रतिस्थापन गर्न स्वदेशमै बिलेट उत्पादन गरिने लक्ष्यका साथ उद्योगको स्थापना गरिएको जनाइएको छ ।
औद्योगिक करिडोरमा झन्डै १६ बिघा क्षेत्रफलमा फैलिएको सर्वोत्तम स्टिलको कुल उत्पादन क्षमता वार्षिक ३ लाख मेट्रिक टन बिलेट र १ लाख मेट्रिक टन डन्डी रहने उद्योगका सञ्चालकहरूले दाबी गरेका छन् ।
उद्योग निर्माणका लागि साँढे ३ अर्ब रुपैयाँ जग्गा किन्न, भौतिक संरचना निर्माण र मेसिनरी जडानमा खर्च भइसकेको र ३ अर्ब रुपैयाँ चालू पुँजी रहेको सञ्चालक न्यौपानेले जानकारी दिनुभयो ।
उहाँले साँढे ६ अर्ब लगानी भएको उद्योगको मुख्य उद्देश्य देशमा बिलेट आयात प्रतिस्थापन गर्नु भएको बताउँदै उद्योगमा वीरगञ्जका उद्योगपति राजेश अग्रवालको समेत लगानी रहेको जनाइएको छ ।
फलामे डन्डी लगायत अन्य सामग्री उत्पादनका लागि भारतबाट अहिले वार्षिक १२–१३ लाख मेट्रिक टन बिलेट आयात भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्