तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा पहिलो चरणमा ८४ प्रतिशतले खोप लगाए 

रुपन्देही । भारत सरकारले अनुदानमा दिएको खोप लुम्बिनी प्रदेशमा माघ १४ गतेदेखि पहिलो चरण लगाउन सुरु गरिएको थियो । सरकारले पहिलो चरणमा खोप लगाउन निर्धारण गरेमध्ये यो प्रदेशमा  ८४ प्रतिशतले लगाएका छन् ।
प्रदेशमा पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्स चालक सुरक्षाकर्मी गरी २८ हजार ९ सय ४१ ले कोभिडविरुद्धको खोप लगाएका हुन् ।
प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले कोभिडविरुद्ध खोपमा लुम्बिनी प्रदेशमा ठुलो सफलताको मिलेको बताउनुभयो । उहाँले खोप लगाउन सङ्कलन गरिएका नामावलीमा गर्भवती र सानो बच्चाको आमाले नलगाउने सूचना आएका कारण लक्ष्य पूरा नभएको बताउनुभयो  ।
प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ फोकल पर्सन कौशल भण्डारीका अनुसार सबैभन्दा बढी रुपन्देहीमा ६ हजार ७ सय ९१ जनाले खोप लगाएका छन् । कपिलवस्तुमा २ हजार २ सय २६, दाङमा ३ हजार ५ सय ४६, बाँकेमा ४ हजार ९ सय ५७, बर्दियामा १ हजार ९ सय ३१, नवलपरासीमा १ हजार १ सय ५२ ले खोप लगाएका छन् । भण्डारीले अर्घाखाँचीमा १ हजार ३ सय ७८, पाल्पामा २ हजार ७ सय १२, गुल्मीमा १ हजार ७ सय ४५, रुकुम पूर्वमा ३ सय ८२, रोल्पामा ९ सय ८७ र प्युठानमा १ हजार १ सय ३४ जनाले खोप लगाएको जानकारी दिनुभयो ।
प्रयोगमा ल्याइएको २८ हजार ९ सय ७० भाइलमध्ये खेर जाने दर न्यून रहेको छ । लुम्बिनी प्रदेशमा २५ खोप केन्द्र रहेका छन् । पहिलो चरणमा लुम्बिनीमा ३४ हजार ९ सय ९५ जनालाई खोप लगाउन डोज छुट्ट्याइएकोमा २८ हजार ९ सय ७० जनाले मात्र खोप लगाएका छन् । अझै ६ हजार २५ डोज खोप बाँकी छ । यो सङ्ख्या हेर्दा लुम्बिनीमा पहिलो चरणको खोप ८४ प्रतिशतले लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button