तपाईँ सुन्दै हुनुहुन्छः

हिउँ नपर्दा काला पहाड बन्दै ‘पातारासी हिमाल’

जुम्लाको पूर्वमा पर्ने पातारासी हिमाल, तस्बिरः सागर परियार
जुम्ला । कर्णालीको दोस्रो ठुलो जुम्लाको पातारासी हिमाल काला पहाड बन्दै गएको छ । माघको तेस्रो साता बितिसक्दा पनि हिमपात नहुँदा हिमाल काला पहाड बन्दै गएको हो ।
विगतका वर्षमा बाह्रै महिना सेताम्मे देखिने जुम्लाको पातारासी हिमाल यस वर्ष कालो पहाडमा परिणत भएको छ । जसले गर्दा पातारासी हिमालको अवलोकन भ्रमण गर्नेहरूको सङ्ख्या घटेको छ ।
समुद्री सतहदेखि करिब ५ हजार भन्दा बढी उचाइ रहेको उक्त हिमालमा हिउँ नपर्दा उक्त हिमालबाट बग्ने जवा नदी र तिला नदीमा पानीको स्रोत समेत घट्दै गएको स्थानीय तारा बहादुर बोहोराले बताउनु भयो ।
यस वर्ष अहिलेसम्म हिउँ नपर्दा अत्यधिक चिसो बढ्नुका साथै हिमालको सौन्दर्य हराएको छ । त्यस्तै स्याउ, सिमी लेकाली अन्नबालीको उत्पादन घट्ने देखिएको छ ।”
साथै, गाउँघरका साना तिना पानीका कुवाहरू समेत सुक्न थालेका छन् । पातारासी हिमाल सँगै राजाको पालामा एक रुपैयाँ नोटमा राखिएको जुम्लाकै चंखेली हिमालमा हिउँ नपर्दा काला पहाडमा परिणत भएको छ ।
त्यस्तै तातोपानी गाउँपालिकाको भुरिचुल्ला, गुठिचौरको चिमारा मालिका, चन्दननाथको डाँफे लेकलगायत अन्य साना ठुला हिम चुचोरोमा हिउँ नपर्दा काला पहाड भएको स्थानीय किसान कल्पना नेपालीले बताउनुभयो ।
बिहीबार कर्णालीको मौसममा बदली भए पनि अहिले सम्म हिमपात हुन सकेको छैन । हिउँ नपर्दा उत्पादन घट्ने चिन्तामा रहेका जुम्ली किसान हिउँ पर्खिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button