तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्री पौडेलद्वारा बिमा क्षेत्रका समस्या समाधानका लागि खरोरुपमा उत्रन निर्देशन 

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन र आफ्नो कार्यकाल बिमा क्षेत्रका लागि कोसेढुङ्गा साबित गर्न बिमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिनु भएको छ ।
बिमा समितिको नवनियुक्त अध्यक्षको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले बिमा क्षेत्रका समस्याहरू केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने बताउनुभयो ।
अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बिमा क्षेत्रले विश्वसनीयता कायम गर्नु पर्ने आवश्यकता औँल्याउँदै बिमा क्षेत्रलाई सबल, सक्षम र प्रतिस्पर्धी बनाउनु पर्ने बताउनुभयो ।
राजस्व सचिव रामशरण पुडासैनीले बिमाको पहुँच बढाउन र बिमा क्षेत्रको सुशासन कायम गर्ने कार्यमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।
बिमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने र फास्ट ट्र्याकमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने बताउनुभयो ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बिमा समितिका नवनियुक्त अध्यक्ष सिलवाललाई पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो ।
सो अवसरमा अर्थमन्त्री पौडेल र सचिवद्वयले नवनियुक्त अध्यक्ष सिलवालाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button