क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ हात्तिखर्क फंलाटेकी ब्लड क्यान्सर भएकी साक्षी लिम्बूलाई तीन लाख १४ हजार १ सय ५ रुपैयाँ सहयोग प्राप्त भएको छ ।
धनकुटाको सहिद भूमि गाउँपालिका–७ घर भई हाल जापानमा रहेका मिलन छिलिङीको अगुवाइमा उक्त रकम सङ्कलन गरी हस्तान्तरण गरिएको हो ।
सहिद भूमि–७ को सिद्धदेबी मा.बि.ले धनकुटामा एक हस्तान्तरण कार्यक्रम गरेर सङ्कलित रकम लिम्बूकी बुवा गणेश लिम्बूलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर राई, प्रधानाध्यापक रत्न राई र शिक्षा विकास तथा समन्वय इकाई धनकुटाकी प्रमुख मोहन राईले हस्तान्तरण गर्नुभएको थियो ।
मिलनको पहलमा देश तथा विदेशबाट उपचारका लागि ९० जनाले सहयोग गरेका छन् ।
गत फागुन ९ गतेदेखि काठमाडौँको कान्ति बाल अस्पतालमा उपचाररत रहेकी लिम्बुको २४ पटक उपचार गर्नुपर्नेमा ४ पटकको सकिएको बुवा गणेश लिम्बूले जानकारी दिनुभयो ।
पहिलेको अवस्थाभन्दा छोरीको स्वास्थ्यमा धेरै सुधार आएको सहयोग गर्ने सबैलाई बुबा गणेश लिम्बूले कृतज्ञता ज्ञापन गर्नुभएको छ ।
रकम सङ्कलन गर्ने छिलिङ सिद्ध देवी माविका पूर्व शिक्षक समेत रहेकाले सोही विद्यालयको आयोजनामा रकम हस्तान्तरण गरिएको कार्यक्रम समन्वयनकर्ता ईश्वरी सुवेदीले जानकारी दिनुभयो ।
गणेश भलिबल खेलाडी भएका नाताले यस अघि गाउँपालिकाले रु.१० हजारसहित छथर स्पोर्टसको पहलमा देश विदेशबाट ३ लाख ८६ हजार ३ सय ५५सहयोग जुटेको थियो ।
छोरीको उपचारका लागि अझैँ १५ देखि २० लाखसम्म खर्च लाग्ने लिम्बूले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्