तपाईँ सुन्दै हुनुहुन्छः

हात्ती पीडित परिवारलाई राहत वितरण  

कञ्चनपुर । कञ्चनपुरको लालझाडीस्थित ढक्का शिविरमा बसोबास गर्दै आएका आरक्षपीडित नागरिकहरू मध्ये गत साता जङ्गली हात्तीले झुपडी समेत भत्काएपछि थप सङ्कटमा परेका हात्तीपीडित परिवारलाई हिमानी ट्रष्टको दैवी उद्धार कोषबाट राहत वितरण गरिएको छ ।

हात्तीपीडित १३ परिवारलाई परिवार सङ्ख्याको आधारमा ५० किलो ग्रामदेखि एक क्विन्टलसम्म चामलसहित खाद्य सामग्री र स्लिपिङ्ग ब्याग वितरण गरिएको हिमानी ट्रष्टले जनाएको छ ।

राहत सामग्री वितरण गर्न हिमानी ट्रष्टका केही पदाधिकारीसहित राप्रपा केन्द्रीय सदस्य गजेन्द्र बहादुर चन्द, शिव सेनाका अध्यक्ष हरिश साउद, विश्व हिन्दु परिषद्का सदस्य भुपेन्द्र राज पन्त, एक्सिस उपाध्याय, मनोज चन्द, सन्तोष पन्त लगायतका युवाहरू उक्त बस्तीमा पुग्नुभएको थियो ।

हिमानी ट्रष्टको दैवी उद्धार कोषबाट राहत पाएपछि हात्तीपीडित नागरिकहरूले खुसी व्यक्त गरेका छन् ।

यसैबीच, जङ्गली हात्तीले लाल झाडी गाउँपालिका क्षेत्रका विभिन्न बस्तीमा किसानको खेती बाली नोक्सानी गर्नुका साथै आतङ्क मच्चाइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button