तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व पश्चिम रेल मार्ग : मकवानपुरका खोला क्षेत्रको डिपिआर सर्वे हुँदै

मकवानपुर । पूर्व पश्चिम रेल मार्ग अन्तर्गत मकवानपुर जिल्लामा पर्ने खोला तथा निकुञ्ज क्षेत्रमा सर्वेक्षणको काम भइरहेको छ । मकवानपुरको चुरीयामाईदेखि लोथरसम्म निर्माण हुने करिब ४० किलो मिटर लामो रेल्वे ट्र्याक अन्तरगत मकवानपुरको खोला क्षेत्रमा डिपिआर सर्वेक्षणको काम भइरहेको हो ।

चितवनको गैँडाकोटबाट सुरु गरेर सर्वे टोलीले अहिले मकवानपुरको मनहरी गाउँपालिका स्थित खोला क्षेत्रमा सर्वेक्षणको काम गरिरहेको छ । सर्वेक्षणको जिम्मा पाएको एमबीसी कन्सल्टेन्सी प्रा.ली.का साइड इन्जिनियर अनिल केसीका अनुसार निजगढ–गैँडाकोट खण्डको डिपिआर सर्वेक्षण अन्तिम चरणमा पुगेको छ । रेल मार्ग अन्तरगत निजगढ–गैँडाकोट खण्डको १ सय ३६ किलो मिटर क्षेत्र मध्ये नदी र निकुञ्ज क्षेत्रको ५ देखि ७ किलोमिटर क्षेत्र बाहेकको डिपिआर सर्वेक्षणको काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । अन्य क्षेत्रको डिपिआर सम्पन्न गरेर अहिले खोला क्षेत्रमा डिपिआर भइरहेको बताउँदै उहाँले निकुञ्ज क्षेत्रमा सर्वेका लागि पत्राचार भएको र निकुञ्ज विभागबाट पत्र प्राप्त भएपछि सो क्षेत्रमा पनि सर्वेको काम सुरु हुने बताउनुभयो । डिपिआर सर्वेक्षणका लागि १२ जनाको टोलीले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

इन्जिनियर केसीका अनुसार निजगढ–गैँडाकोट खण्डमध्ये मकवानपुरको चुरीयामाई–हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ९ र १४ को सिमाना, हेटौँडा सिमेन्टको पछाडिको क्षेत्र कुखरेनी खोलाको पश्चिमी किनार, वडा नम्बर १२ स्थित राप्ती खोलाको दक्षिणी क्षेत्र हुँदै मनहरी गाउँपालिकाको रजैया हुँदै लोथरसम्म पुग्ने बताउनुभयो । चुरीयामाईदेखि मकवानपुर क्षेत्रका यी भागमामा पर्ने  क्षेत्रको लम्बाई ४० किलो मिटर रहेको उहाँले बताउनुभयो ।

करिब एक हजार किलोमिटरको पूर्व–पश्चिम रेलमार्गअन्तर्गत मेचीदेखि बुटवलसम्मको ५ सय ३९ किलोमिटरको डिपिआर तयार भइसकेको छ भने, बर्दिबास–सिमरा रेलमार्ग अढाइ वर्षभित्र सञ्चालनमा ल्याउने र बर्दिबासदेखि लालबन्दीसम्मको निर्माण कार्य समेत सुरु भइसकेको छ । तर, सिमरा–तन्सरिया खण्डमा चितवन राष्ट्रिय निकुञ्ज पर्ने हुनाले त्यसको विकल्प स्वरूप निजगढ–हेटौँडा–भरतपुर–तन्सरिया रुटको विकल्प अध्ययन भइरहेको हो । यसअघि पूर्व–पश्चिम रेलमार्गको कुल लम्बाइ ९ सय ४५ किलोमिटर अनुमान गरिएकोमा रुट परिवर्तन हुनाले लम्बाई एक हजार किलोमिटर हुने भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button