तपाईँ सुन्दै हुनुहुन्छः

दश महिनापछि चित्रेको होमस्टे खुल्ला 

पर्वत । पर्यटकहरू घुमघाम गर्ने पञ्चासे लेक । लेकको काखमा छ चित्रे गाउँ । आँखै अगाडी हिमालका पङ्क्ति । सबैजसोका घर ढुङ्गाले छाएका । आँगन र डहरसमेत ढुङ्गाका छपनीले बनाएको । जिल्लाको चित्रे ग्रामीण पर्यटनको अग्रणी गाउँ हो । कोभिड १९ संक्रमण पश्चात् ठप्प रहेको यो गाउँ अहिले फेरि जगमगाएको छ ।
पर्वत जिल्लाको मोदी गाउँपालिका ८ चित्रेमा ७ घरमा होमस्टे चलाइएको छ । यो होमस्टे जिल्लाकै पहिलो र चर्चित होमस्टे हो । १० महिनापछि पर्यटकको चहलपहल सुरु भएपछि स्थानीय दङ्ग छन् । माघको दोस्रो सातादेखि होमस्टेमा पर्यटकहरूलाई स्वागत गर्न थालिएको हो । कोरोना सङ्क्रमणको त्रासले यहाँका सबै होमस्टेमा पर्यटक आगमन रोकिएको थियो । होमस्टे सञ्चालक शुसिलादेबि गुरुङले स्वास्थ्यका मापदण्ड पालना गरी होमस्टे खुल्ला गरिएको बताउनुभयो । अहिले बिस्तारै पर्यटकहरू आउन सुरु भएको उहाँले बताउनुभयो । कोरोना महामारीभन्दा अगाडिसम्म वार्षिक ३ हजारभन्दा बढी पर्यटक होमस्टेमा पुग्ने गरेको तथ्याङ्क छ ।
कोभिड संक्रमण पछि सुनसान रहेको गाउँमा फेरि चहलपहल सुरु भएको स्थानीय मनमायाँ गुरुङले बताउनुभयो । उहाँले गाउँमा पाहुना आउँदा आफूहरूको दैनिकी पनि बेफुर्सदिलो बनेको सुनाउनुभयो । दैनिक रुपमा पर्यटक नआएपनि बिदाको दिन र कुनै चाडबाड पर्दा अग्रिम बुकिङ गरेर स्वागत गर्दै आएको होमस्टे सञ्चालक मनमायाले बताउनुभयो ।
यहाँका बासिन्दाहरू होमस्टे आम्दानी गर्ने थलो मात्रै नभई सामाजिक अभियान थाल्ने थलोको रुपमा पनि उपयोग गरिएको छ । जति बचत हुन्छ, त्यसको करिब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्यापर्यटनमा लगानी गर्ने गरेको र पाँच प्रतिशत होमस्टेको कोषमा राख्ने गरिएको छ । समितिका अनुसार चित्रेको होमस्टेमा एक पटकमा ७० जनासम्म राख्न सक्ने क्षमता छ । अहिले धेरै घरहरूमा कोठा थप्ने र सबै एट्याच रुम बनाउने क्रम चलेको होमस्टे सञ्चालक समितिका सचिव मधुसोधन अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेहरूको मन जित्दै आएको छ । पर्यटकको स्वागतमा स्थानीय आँगनमा फुलमाला सजाएर राख्ने गरेका छन् । मौलिक कलाको प्रचार र प्रवर्द्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चेबाजा र भजन टोलीको फरक फरक प्रस्तुतिले धेरैलाई रमाइलो लाग्ने गरेको होमस्टे सञ्चालकहरू बताउँछन् । जाडोको बेलामा ‘क्याम्प फायर’सहित पञ्चेबाजा र भजनको तालमा नाच्न पाउँदा होमस्टेमा पुग्नेहरूलाई झनै हौसाएको वडाध्यक्ष समेत रहेका सुकबहादुर गुरुङको भनाइ छ ।
चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको संगमस्थल पञ्चासेमा पदयात्रा गर्दै समेत जाने ‘रुट’ समेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकहरूको सङ्ख्या धेरै छ । होमस्टे पुग्न साथ गुरुङ पोशाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ । खानाको रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेँडाबाट बनाएको चटनी आदीले पर्यटकलाई आकर्षित गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button