भेरी–बबई डाइभर्सन आयोजनाका श्रमिक हडतालमा

सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका श्रमिकले पारिश्रमिक नपाएपछि हडताल शुरु गरेका छन् । आयोजना परामर्शदाता महाव घोड्स इन एसोसिएसन वीथ (इकोकोड) नेपाल मार्फत काम गर्ने श्रमिकले एक वर्षदेखिको पारिश्रमिक नदिएको भन्दै हडताल शुरु गरेका हुन् ।
गत असार २२ गते रोजगारदाता र श्रमिकबिच एक वर्षको बाँकी पारिश्रमिक एक महिनाभित्र दिने मौखिक सहमति भए पनि हालसम्म भुक्तानी नदिएपछि आन्दोलित हुनु परेको श्रमिक अगुवा प्रविन यादवले बताउनु भयो ।
उहाँले रोजगारदातासँग बक्यौता पारिश्रमिक दिन ६ पटकसम्म लिखित अनुरोध गर्दा समेत सुनुवाइ नभएपछि आन्दोलित हुनुको अर्को विकल्प नभएपछि हडताल गर्न बाध्य भएको जनाउनु भयो ।
‘बक्यौता रकम भुक्तान गर्ने सम्झौता गरेको पाँच महिना बितिसक्दा समेत रोजगारदाताले श्रमिकका समस्याप्रति बेवास्ता गर्दै खेलावाड गरिरहेको छ,’ उहाँले भन्नु भयो, ‘कानुनी राज्यमा श्रमिकले आफ्नो श्रम नपाएपछि बाध्य भएर आयोजना कार्यालयको अगाडि सोमबारदेखि चरणबद्ध हडताल गर्नु परिरहेको छ ।’
उहाँले एकमुष्ट बक्यौता पारिश्रमिक भुक्तान नभएसम्म शान्तिपूर्ण अनिश्चितकालिन हडताल जारी रहने जनाए । रोजगारदाताको आश्वासनले मात्र काम नचल्ने भएकाले बक्यौता पारिश्रमिक नदिएसम्म काममा नफर्किने उहाँहरूको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्