तपाईँ सुन्दै हुनुहुन्छः

भूमि सम्बन्धी समस्या समाधान आयोग अछामको अध्यक्षमा साउँद, विज्ञमा जनाला

अछाम । भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति अछामको अध्यक्षमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता कटक बहादुर साउँद नियुक्त हुनुभएको भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट भूमि सम्बन्धी समस्या समाधान आयोग अछामको अध्यक्षमा साँउद चयन हुनुभएको हो ।
यस्तै आयोगको विज्ञ सदस्यमा लामो समयदेखि दलित अधिकार तथा किसानको क्षेत्रमा काम गर्दै आउनु भएका  भिम जनाला नियुक्त हुनुभएको छ ।  सदस्यमा प्रगति थापा रावललाई चयन गरिएको आयोगका नवनियुक्त अध्यक्ष साउँदले जानकारी दिनुभयो ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबास लगायतको सामाजिक न्याय र जीवनस्तर सुधारका लागि भूमिको समन्यायिक वितरण र दिगो व्यवस्थापनका लागि सरकारले केन्द्र देखि जिल्ला तहसम्म आयोग गठन गरेको हो ।
भूमि नागरिकको खाना, आवास र स्वतन्त्रता जस्ता मौलिक अधिकार प्राप्त गर्न सुनिश्चितताको आधार भएको र तल्लो तहका नागरिकलाई लोकतन्त्रको अनुभूति गराउनुका साथै देशको समग्र आर्थिक तथा सामाजिक उन्नतिका लागि पनि लामो समयदेखिको भूमिसम्बन्धी समस्या निरूपण गर्नका लागि सरकारले केन्द्रीय तहमा आयोग र जिल्ला तहमा जिल्ला समिति गठन गरेको हो ।
भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने, मुक्त कमैया, कमलरी, हरुवा र चरुवा, हलिया, भूमिहीन, सुकुम्वासी पहिचान गरी बसोबासका लागि घर र घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सँगै उनीहरूलाई पुनर्स्थापन गर्ने, भूमिको दिगो उपयोग र कृषियोग्य भूमिमा किसानको अधिकार सुनिश्चित गर्नेसमेत संविधानको भावनालाई मूर्त रूप दिन उपलब्ध जमिनको यथोचित व्यवस्थापनका लागि अब काम सुरु हुने सरकारले जनाएको छ ।
भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ ख. को उपदफा (६) बमोजिम नेपाल सरकारबाट भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भएको हो ।
आयोगको समयावधि ३ वर्ष र जिल्ला समितिको अवधि जिल्ला समिति विघटन नभए सम्म रहने व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button