तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँको भद्रवासमा रेडक्रस भवन शिलान्यास

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ स्थित भद्रबासमा नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवन निर्माण हुने भएको छ ।

नगरपालिकाले उपलब्ध गराएको सात आना जग्गामा अनुमानित ५० लाख रुपियाँमा १ हलसहित चारकोठे भवन निर्माण हुनेछ ।

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले आज भवनको  शिलान्यास गर्नुहुँदै प्रदेशको भौतिक पूर्वाधार विकासमा रकमको अभाव नहुने भन्नुहुँदै निर्धारित समयमा गुणस्तरीय कार्य गर्न आग्रह गर्नुभयो ।

मन्त्री फुयाँलले मुख्यमन्त्रीको अध्यक्षतामा बिहीबार वाग्मती प्रदेश यातायात सञ्चालन बोर्ड गठन गरिएको र बोर्डले ३० वटा विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।

प्रदेश सरकारले तीन प्रतिशत ब्याजमा सहुलियत ऋण दिएर आयआर्जन गर्न चाहनेलाई सहयोग गर्न कार्यविधि ल्याएको र यसका लागि प्रदेश सरकारबाट तीन अर्ब बजेट विनियोजन गरिएको मन्त्री फुयाँलले जानकारी दिनुभयो ।

मन्त्री फुयाँलले प्रदेश सरकारले उपत्यकाका काठ क्षेत्रका तीनै जिल्ला जोडिने गरी १५५ किमी लामो काठ उपत्यका चक्रपथ निर्माणका लागि छिट्टै ठेक्का गर्न लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा सोसाइटीका काठमाडौँ शाखा सभापति मथुराराम श्रेष्ठले सरकारले जेनेभा सन्धिमा हस्ताक्षर गरेपछि मात्र रेडक्रस स्थापना हुनसक्ने भएकाले अरू सामाजिक संस्थाजस्तो बुझ्न नहुने बताउनुभयो ।

उपशाखा सभापति वासुदेव पौडेलले भवनमा १२ बाई २४ को एक हलसहित चार कोठा निर्माण गरिने बताउनुभयो ।

प्रदेश पूर्वाधार विकास कार्यक्रमबाट प्राप्त १५ लाखबाहेक अरू बजेट चन्दाबाट नै सङ्कलन गर्नुपर्ने उपशाखाका सचिव लक्ष्मीप्रसाद कुइँकेलले जानकारी दिनुभयो । भवन निर्माणका लागि छुट्टै समिति गठन गरी सहयोग जुटाउने काम भइरहेको उपसभापति हरिशरण ढकालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button