सञ्चार ग्राम, विराटनगरमा सङ्गीत प्रशिक्षण कार्यक्रम सुरु
विराटनगर । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्रामको विकास एवं व्यवस्थापनमा मन्त्रालयको सक्दो सहयोग रहने बताउनुभएको छ ।
रेडियो नेपालको आयोजनामा विराटनगर –४ स्थित तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राममा आजबाट सुरु भएको ९ औं सङ्गीत प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्नुहुँदै सचिव बस्यालले सञ्चार ग्रामको भवनलाई पूर्ण रुपमा उपयोग हुने गरी यसको सञ्चालन व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सञ्चार ग्रामको स्थापनाका लागि विराटनगर महानगरपालिकाले जग्गा उपलब्ध गराएकोमा महानगरपालकालिकालाई धन्यवाद दिनुहुँदै सञ्चार ग्रामको दिगो व्यवस्थापनमा समेत महानगरको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकारिता र कला, संस्कृति तथा सङ्गीत क्षेत्रको थलोको रुपमा रहेको सञ्चार ग्रामलाई प्रशिक्षण केन्द्रको रुपमा विकास गर्दै जानुपर्नेमा सचिव बस्यालले जोड दिनुभयो ।
उहाँले नेपालको इतिहास बोकेको रेडियो नेपालको भूमिका र योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्नुहुँदै रेडियो नेपालले सुरु गरेको सङ्गीत प्रशिक्षण कार्यक्रमलाई सात वटै प्रदेशमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सञ्चार ग्राम परियोजनालाई दिगो बनाउन सरकारले वार्षिक रुपमा बजेटको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
महानगरपालिका र रेडियो नेपालको सहकार्यमा स्थापना भएको सञ्चार ग्राम व्यवस्थापनमा महानगरपालिकाको निरन्तर सहयोग रहने जनाउनुहुँदै मेयर पराजुलीले सञ्चार ग्रामलाई देशकै नमुना सञ्चार ग्राम बनाउने बताउनुभयो ।
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले सञ्चार ग्रामको उद्देश्यलाई मूर्तरूप दिन सङ्गीत प्रशिक्षण कार्यक्रम सुरु गरेको बताउनुहुँदै सञ्चार ग्राममा स्टुडियो स्थापना गरी सञ्चार ग्रामबाटै गीत उत्पादन गर्ने तयारीमा रेडियो नेपाल रहेको जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक केसीले पुर्वक्षेत्रका सङ्गीत, कला, साहित्य र संस्कृतिको जर्गेनाका साथै पत्रकारिता तथा साङ्गीतिक क्षेत्रको विकासमा सञ्चार ग्राम उपयोगी विश्वास व्यक्त गर्नुभयो ।
सङ्गीत प्रशिक्षण कार्यक्रममा सहभागीहरूको उल्लेखनीय सहभागिताबाट आफूहरू उत्साहित भएको बताउनुहुँदै कार्यकारी निर्देशक केसीले सहभागीहरूलाई चासो दिएर सिक्न आग्रह गर्नुभयो ।
कार्यक्रममा रेडियो नेपाल सञ्चालक समिति सदस्य टीकाप्रसाद भण्डारीले पत्रकारिता तथा गीत सङ्गीतको विकासमा सञ्चार ग्राम उपयोगी हुने बताउनुभयो ।
रेडियो प्रसारण केन्द्र धरानका प्रमुख सुरेश प्रसाद बास्तोला र विराटनगर महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवेन्द्रराज पोखरेलले तालिमको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रम रेडियो नेपालका मुख्य कार्यक्रम अधिकृत गोकर्ण रेग्मीले सञ्चालन गर्नुभएको थियो । ३ महिनासम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा ५५ जना पशिक्षार्थीको सहभागिता रहेको छ ।
सहभागीहरूलाई रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख टीकाप्रसाद भण्डारी, सङ्गीत प्रमुख मनराज नकर्मी, गायन प्रशिक्षक हरि शंकर चौधरी, वरिष्ठ गितार वादक दिपक सुनाम, बाँसुरी प्रशिक्षक निरञ्जन भण्डारी तथा एकराज श्रेष्ठले प्रशिक्षण दिइरहनुभएको छ ।
कार्यक्रममा गायनका साथै गितार, हार्मोनियम तथा बाँसुरी वादन लगायतका बिदामा प्रशिक्षण भइरहेको सङ्गीत प्रमुख नकर्मीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्