खुले उपत्यकाका सबै विद्यालय : कतै एक बेन्चमा एक जना कतै कतै पाँच जनासम्म

काठमाडौँ । काठमाडौंको पद्मोदय माध्यमिक विद्यालयको कक्षा तीनका विद्यार्थीहरु उत्साहपूर्ण रुपमा पढिरहेका छन् ।
लामो समयपछि विद्यालय खुलेकाले विद्यार्थीहरुको उपस्थिति पनि निकै राम्रो रहेको छ । साना विद्यार्थीहरु एउटा बेन्चमा एक जना मात्रै बसेका छन् भने सबै विद्यार्थीले मास्क लगाएका छन् ।
यसै विद्यालयका विद्यालयका निमित्त प्रधानाध्यापक नारायण गौतम कक्षा १० को नेपाली विषय पढाइरहनु भएको छ । तर यस कक्षा कोठामा विद्यार्थीहरुको उपस्थिति भने खचाखच नै रहेको छ । सबै विद्यार्थीले मास्क लगाएको भएपनि भौतिक दुरी भने कायम गर्न सकिएको छैन । ठूला कक्षाका धेरै विद्यार्थीहरु भएकाले एक बेन्चमा चारदेखि पाँच जनासम्म बसेका छन् ।

विद्यालयका निमित्त प्रधानाध्यापक गौतम विद्यार्थी संख्या कम भएका कक्षाहरुमा भौतिक दुरी कायम गरिएको र विद्यार्थी संख्या बढी भएका कक्षाहरुमा अरु स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरिएको भए पनि भौतिक दुरी कायम गरेर पढाउन नसकिएको बताउनुहुन्छ ।
काठमाडौं उपत्यकाका छेउछाउ र उपत्यका बाहिरका स्थानीय तहले केही महिनाअघि नै विद्यालय सञ्चालन गरिसकेका छन् ।
काठमाडौं महानगरपालिकाले सरकारले तोेकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर शैक्षिक संस्था सञ्चालन गर्न सक्ने निर्णय गरेपछि उपत्यकाभित्रका विद्यालयहरु खुलेका हुन् ।

पढाउने समय भने विद्यालयहरु आफैले विभिन्न ढाँचामा तया गरेका छन् । अधिकांश विद्यालयले भौतिक दुरी कायम गर्न एक दिन प्रत्यक्ष र अर्को दिन अनलाइनबाट पढ्न सक्ने व्यवस्था गरेका छन् । विद्यालयमा विद्यार्थी बस्ने समय पनि छो्ट्याएका छन् ।

विद्यार्थीलाई मास्क र फेससिल्ड अनिवार्य गरी गेटमै सेनिटाइजर दिने र विद्यार्थीको तापक्रम जाँच गरेर मात्रै भित्र जान दिइने गरिएको बताउनुुहुन्छ अनामगरमा रहेको नेपाल मेगा स्कुलका सकेण्डरी तहको कोअर्डिनेटर रमेश चापागाईँ ।
त्यसो त विद्यार्थीहरु पनि आफै सचेत भएर विद्यालय जाने गरेका छन् । मास्क र फेससिल्ड लगाएका विद्यार्थीले सेनीटाइजर पनि लग्ने गरेका छन् ।
पद्मोदय माविमा कक्षा ३ मा अधययनरत छात्र युवराज विष्ट विद्यालयमा सुरक्षित रहने गरेको बताउनुहुन्छ । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा शोफिया लामा पनि विद्यालयमा आउँदा मास्क नखोल्ने, सेनिटाइजर लगाउने र बेला–बेलामा साबुन पानीले हात धुने गरेको बताउनुहुन्छ ।

लामो समयदेखि बन्द रहेका विद्यालय नियमित सुचारु गर्ने वा बन्द गर्ने विषयमा शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरी कोभिडको अवस्था मूल्यांकन गरी स्थानीय तहबाटै विद्यालय खोल्ने वा बन्द गर्न सक्ने व्यवस्था गरेपछि धेरै विद्यालय सञ्चालन हुन थालेका थिए । तर काठमाडौं महानगरपालिकाले पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय खोल्न सक्ने निर्णय गरेपछि उपत्यकामा रहेका सबै विद्यालयहरु खुलेका छन् ।
यसबाट काठमाडौंका ६ सय ४५ निजी र ९२ सरकारी विद्यालयका झण्डै एक लाख ५५ हजार विद्यार्थीले नियमित पठनपाठनमा भाग लिन पाएका छन् ।









प्रतिक्रिया राख्नुहोस्