प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस जारी

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज पनि सुनुवाइ जारी छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलास जारी सुनुवाइमा आज पनि रिट निवेदन तर्फबाटै बहस भइरहेको छ ।
आजको सुनुवाइमा बहस गर्दै रिट निवेदकसमेत रहनुभएका विघटित प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्नेमा संविधान विपरीत संसद् नै विघटन गर्नुभएपछि आफु न्यायका लागि अदालत आएको बताउनुभयो ।
उहाँले प्रतिनिधिसभा विघटन संविधान र संवैधानिक कानुन विपरीत भएकाले बदर हुनुपर्ने तर्क गर्नुभयो ।
बहसका क्रममा राष्ट्रियसभा सदस्यसमेत रहनुभएका वरिष्ठ अधिवक्ता रामनारायण विडारीले विधायकी आशय अनुसार संविधानको व्याख्या हुनुपर्ने भन्नुहुँदै संविधान र संविधानवादलाई जोगाउन विघटनको निर्णय बदर गरिनुपर्ने जिकिर गर्नुभयो ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक तर्फका कानुन व्यवसायीहरूको बहस अहिले पनि जारी छ ।
बाह्रौँ दिनदेखि जारी बहसमा बहुमत प्राप्त प्रधानमन्त्रीले गर्नुभएको प्रतिनिधिसभा विघटन वैधानिक हो या होइन भन्ने विषय नै केन्द्रित रहेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमा माघ ४ गतेदेखि एकसाथ सुनुवाइ गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्