तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा कोभिड खोप अभियान : दोस्रो दिन २ सय जनाले खोप लगाए

अछाम । देशैभर कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने काम दोस्रो दिन पनि जारी रहेको छ । जस अन्र्तगत आज पनि अछाम जिल्लामा स्वास्थ्यकर्मीहरू, स्वयंसेविकाहरू लगायत अन्य यससँग सम्बन्धित व्यक्तिहरूलाई खोप लगाइएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकाहरू गरेर २ सय जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालयका गणेश सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार ५६ जना पुरुष र १ सय ४४ जना महिला गरी २ जनालाई कोभिड १९ विरुद्धको खोप लगाइएको हो ।
जसमा ६६ जना स्वास्थ्यकर्मी, १ सय १० जना महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य सँग सम्बन्धित कर्मचारी २१ जना, सफाइ कर्मचारी २ जना र १ जना एम्बुलेन्स चालक रहेका छन् । पहिलो दिन बुधवार अछाम जिल्लामा २ सय ३६ जनाले खोप लगाएका थिए ।
कोभिड विरुद्धको खोप अभियान १६ र १७ गते पनि निरन्तर चल्ने स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताउनु भयो । उहाँका अनुसार यो अवधिमा छुटेकाहरूलाई १८ गते पनि खोप लगाउन सकिने व्यवस्था गरिएको छ ।
बुधवार स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुङ्गानाबाट खोप लगाएर अछाममा अभियानको सुरुवात गरिएको थियो । पहिलो दिन सुदूरपश्चिम प्रदेशमा भने १ हजार ८२ जनाले खोप लगाएका थिए ।
खोप लगाउँदा हुने जोखिमका अस्पतालको एक टोली तयारी अवस्थामा
खोप लगाउँदा हुन सक्ने अवाञ्छित घटनाको व्यवस्थापनको लागि जिल्ला अस्पताल अछामले एक टोली तयारी अवस्थामा रहेको जनाएको छ ।
खोप लगाउँदा हुने सक्ने सम्भावित जोखिमलाई मध्य नजर गर्दै जिल्ला अस्पतालका डा अतुल भारद्वाज, डा. दिनेश गिरी, अस्पताल नर्सिङ निरीक्षक गङ्गा बुढामगर र हेल्थ असिस्टेन्ट धर्मराज जैसी सहितको टिम तयारी अवस्थामा रहेको अस्पतालले जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी सहितको टोलीद्वारा अनुगमन
अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको एक टोलीले कोभिड १९ विरुद्धको खोप अभियानको अनुगमन गरेको छ ।
जिल्ला अस्पतालमा सञ्चालन भइरहेको खोप अभियानको उपाध्यायको नेतृत्वमा गएको एक टोलीले अनुगमन गरेका हो ।
खोप लगाइसकेपछि केहीलाई सामान्य असर देखि पनि खोप उत्साहजनक तरिकाले सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
साथै खोप अभियानको तयारी र व्यवस्थापन पक्ष पनि राम्रो रहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाको तुलनामा अछाममा सहभागिता पनि बढी देखिएको उहाँले बताउनु भयो । जिल्लाका स्थानीय तहहरूले पनि स्वास्थ्यकर्मीलाई खोप लगाउन जिल्ला पठाउनु सकारात्मक भएको प्रजिअ उपाध्यायको भनाई छ । प्रजिअ उपाध्यायको नेतृत्वमा गएको अनुगमन टोलीमा जिल्ला अस्पतालका डाक्टर, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button