मलेसियामा मृत्यु गएका भीमबहादुरको शब डेढ महिना पछि घरमा
धनकुटा । बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा मृत्यु भएका चौबिसे गाउँपालिका–३ सोगुमका ४३ वर्षीय भीमबहादुर मगरको लास डेढ महिना पछि घरमा ल्याइएको छ ।
यहि माघ १० गते घर ल्याई ११ गते अन्त्येष्टि गरिएको उहाँको परिवारजनले जानकारी दिएको छ । ११ वर्ष अगाडि वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका मगरको डेढ महिना अघि मलेसियामा बिरामी भएर मृत्यु भएको थियो ।
भिसाको म्याद सकिएपछि करिब ४ वर्षदेखि गैर कानुनी रुपमा मलेसियामा काम गर्दै आएका मगर तीन महिना बिरामी परेका थिए । बिरामी परेर घर फर्कने तयारी गर्दै गर्दा गत मङ्सिर २७ गते उनको मृत्यु भएको मृतकको छोरा मिलन मगरले बताए । उनको मलेसियामा मृत्यु भएसँगै परिवार शोकमा डुबेको छ । मृतकको एक छोरा, चार छोरी र श्रीमती रहेको छ ।
आर्थिक अवस्था कमजोर रहेका मगर यस भन्दा अगाडि बैदेशिक रोजगारकै सिलसिलामा दुबई गएका थिए । तर दुबईमा भनेजस्तो पैसा नपाएपछि २ वर्षमा घर फर्किएका थिए । धेरै पैसा कमाएर छोराछोरी र श्रीमतीलाई सुख सयलमा पाल्ने सपना बोकेर २०६६ साल मङ्सिरमा मलेसिया हानिएका मगर पैसा कमाउनुको सट्टा बाकसमा सजिएर आए । छोराछोरीको लाउला ख्याउला भन्ने उमेरमा श्रीमान्को विदेशमा मृत्यु भएपछि परिवारको बिचल्ली भएको मृतकको श्रीमती डिकमाया मगरले गुनासो गर्नुभयो ।
मृतकको जेठी छोरीको विवाह भई सकेको छ भने माइली छोरी र छोरा कक्षा–१२, साइली छोरी कक्षा–११ र कान्छी छोरी कक्षा–६ मा पढ्दै छन् । अब नानीहरुको पठन पाठनमा पनि समस्या भएको डिकमायाले बताउनुभयो । गैर कानुनी रुपमा काम गर्दै आएका मगरको बिरामी भई मलेसियामा नै मृत्यु भएपछि आप्रवासी सूचना कक्ष चौबिसे गाउँपालिका र सिएमआइआर नामक संस्थाको पहलमा उनको लास नेपाल ल्याउन सफल भएको आप्रवासी सूचना कक्षका सूचना सहायक सुरेन्द्र लिम्बूले बताउनु भयो ।
मगरको लासलाई नेपाल ल्याउनको लागि प्रवासमा रहेका नेपाली दाजुभाई र मृतक परिवारले गाउँमा चन्दा सङ्कलन गरेका थिए । उक्त सङ्कलित रकमबाट लास नेपाल ल्याइएको भए पनि काठमाडौँबाट घरसम्म उनको लास ल्याउन भने बैदेशिक रोजगार बोर्डले निःशुल्क शवबाहनको व्यवस्था मिलाएको सूचना सहायक लिम्बूले बताए ।
भिसाको म्याद सकिएर गैर कानुनी रुपमा काम गर्दै आएका कारण मगरलाई नेपाल सरकारको तर्फबाट सहयोग गर्न समस्या भएको छ । तर पनि उहाँले काम गर्दै आएको कम्पनीबाट क्षतिपूर्तिको उपलब्ध गराउनको लागि पहल भइरहेको आप्रवासी सूचना कक्ष चौबिसे गाउँपालिका धनकुटाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्