करदाता सेवा कार्यालय लम्कीबाट ६ महिनामा २५ करोड बढी राजश्व सङ्कलन
टीकापुर, कैलाली । करदाता सेवा कार्यालय लम्कीबाट चालु आर्थिक वर्षको ६ महिनामा २५ करोड ६ लाख बढी राजश्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३ वटा शीर्षकबाट २५ करोड ६ लाख ४७ हजार १ सय ५१ रुपैयाँ राजश्व सङ्कलन भएको हो । यो अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा करिब ७ करोड ८ लाख बढी हो ।
अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को यही समयमा १७ करोड ९७ लाख ८३ हजार ३ सय ९३ रुपैयाँ राजश्व सङ्कलन भएको थियो । गत वर्षको तुलनामा यो वर्ष करिब ७ करोड ८ लाख बढी राजश्व सङ्कलन भएको करदाता सेवा कार्यालय लम्कीका प्रमुख सेतबहादुर शाहीले बताउनु भयो ।
कोरोनाका कारण आन्तरिक कारोबारमा बढोत्तरी, करदाताको सङ्ख्यामा वृद्धि हुनु र सरकारले ल्याएको आर्थिक ऐन, २०७७ मा करदाताहरूका लागि विभिन्न छुट सुविधा ल्याएका कारण गत वर्षको भन्दा यो वर्ष राजश्व बढी सङ्कलन भएको प्रमुख शाहीको भनाई छ ।
प्रमुख शाहीका अनुसार सबै भन्दा बढी आयकर शीर्षकबाट १४ करोड २४ लाख २ हजार ६ सय ६ रुपैयाँ राजश्व सङ्कलन भएको छ । मूल्य अभिवृद्धि कर शीर्षकबाट ८ करोड १२ लाख १० हजार ३ सय ७६ रुपैयाँ राजश्व सङ्कलन हुँदा अन्त शुल्क शीर्षकबाट २ करोड ७० लाख ३४ हजार १ सय २८ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।








प्रतिक्रिया राख्नुहोस्