तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुर भन्सारको वार्षिक लक्ष्य ६ महिनामै पूरा

भद्रपुर, झापा । झापाको सदरमुकाममा रहेको भद्रपुर भन्सार कार्यालयले आ. व. ०७७।०७८ को राजश्व संकलनको वार्षिक लक्ष्य ६ महिनामै पूरा गरेको छ ।

तीन वर्षअघि छोटी भन्सारबाट मुल भन्सारमा स्तरोन्नति भएको भद्रपुर भन्सारले आ. व. ०७७।०७८ को पहिलो ६ महिनामा लक्ष्यको दोब्बर प्रगति हासिल गरेको छ । भन्सार कार्यालयका अनुसार साउनदेखि पुससम्ममा १७ करोड ५१ लाख १० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यो लक्ष्यको दोब्बरभन्दा बढी भएको कार्यालय प्रमुख प्रमोद पौडेलले जानकारी दिनुभयो । भन्सार विभागले भद्रपुर भन्सारलाई आ. व. ०७७।०७८ मा १६ करोड ६५ लाख ५६ हजार रुपैयाँको लक्ष्य निर्धारण गरेको थियो ।

जिल्लाका पाँचवटा छोटी भन्सारसमेत कार्यक्षेत्र रहेको भद्रपुर भन्सारले अधिकतम राजश्व मुल भन्सारबाटै संकलन भएको कार्यालयकी सूचना अधिकारी नानुका पोखरेलले बताउनुभयो । उहाँका अनुसार साउनमा २ करोड २३ लाख ३६ हजार, भदौमा ३ करोड ६२ लाख चार हजार, असोजमा ४ करोड ५७ लाख २१ हजार, कात्तिकमा ३ करोड ५५ लाख, मंसिरमा १ करोड ७३ लाख ५८ हजार र पुसमा १ करोड ७५ लाख १० हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

कोरोना भाइरसको महामारीका समयमा सुरक्षाकर्मीको बाक्लो निगरानीका बीच चोरी पैठारी निकासी बन्द हुँदा भन्सारको राजश्वमा बृद्धि भएको अनुमान गरिएको छ ।यसैबीच, भद्रपुर भन्सारले ६९ औं अन्तर्राष्टिय भन्सार दिवस विविध कार्यक्रम गरी मनाएको छ । आज भन्सार परिसरमा भद्रपुर नगरपालिकाका प्रमख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा दिवस मनाइएको हो । सो अवसरमा भन्सारका उत्कृष्ट दुईजना कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button