‘लिभिङ टुगेदर’ महिला हिंसाको कारण बन्दै

पाल्पा । पछिल्लो समय ‘लिभिङ टुगेदर’ महिला हिंसाको प्रमुख कारकतत्व बन्दै गएको छ । महिला हिंसा न्यूनीकरणका लागि सरोकारवालाहरूले ‘लिभिङ टुगेदर’ पछिल्लो समयमा महिला हिंसाको प्रमुख कारकतत्व बनेको बताएका हुन् ।
जिल्लाका सरोकारवालाबीच महिला हिंसा रोकथाम र न्यूनीकरणका समसामयिक विषयमा लिभिङ टुगेदर, यौनिक हिंसा, वैदेशिक रोजगारले निम्ताएको महिला हिंसाको विषयमा छलफल भएको थियो । कार्यक्रमका सहभागीहरूले जिल्लामा पनि पछिल्लो समयमा लामो समय मिलेर सँगै बस्ने र पछि महिला हिंसाको उजुरी आउने भएसँगै समस्या समाधान गर्न असहजता भइरहेको बताउनुभएको थियो ।
कार्यक्रममा जिल्लाका स्थानीय तहका उपप्रमुखहरूले आफ्नो स्थानीय तहमा न्यायिक समितिले महिला हिंसा न्यूनीकरणको लागि गरेका काम,न्यायिक समितिमा आउने घटना, न्याय सम्पादनका समस्या र चुनौतीका विषयमा महिला आयोगलाई ध्यानाकर्षण गराउनुभएको थियो ।
कार्यक्रममा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले महिलाको क्षमता विकास र रोजगारीको लागि स्थानीय सरकारले बलिया कार्यक्रम ल्याउन सके मात्र महिला हिंसाको न्यूनीकरणमा कमी आउने बताउनुभयो । न्यायको सम्पादनको लागि स्थानीय तहमा रहेका न्यायिक समितिलाई अझ तालिमको आवश्यकता रहेको उहाँले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय महिला आयोगका तर्फबाट प्राविधिक सल्लाहाकार पलिता थापा र जिल्ला प्रशासन कार्यालय पाल्पाको तर्फबाट प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले महिला हिंसा न्यूनीकरणको लागि गरेको प्रयास र कामको कार्यपत्र बारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा विभिन्न स्थानीय तहका न्यायिक समितिका संयोजकहरूले उठाएका जिज्ञासाको जवाफ दिंदै राष्ट्रिय महिला आयोगकी सचिव शान्ता अधिकारी भट्टराईले जिल्लामा महिलाको अवस्था बारे जानकारी लिएर गएपछि आवश्यक कार्यक्रम गाउँ गाउँमा लैजाने बताउनुभयो । समग्र देशमा महिलाले आफ्नो हक र अधिकारका लागि विभिन्न खालका समस्या भोग्नु परेको भन्दै उहाँले त्यसको समाधानको लागि सरकारलाई आग्रह गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका उपप्रमुख,न्यायिक समितिका सदस्य,सुरक्षा निकायमा प्रमुख,कानुन ब्यवसायी,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्