जनता आवास कार्यक्रम जनताको मन छुने, गौरवको योजना : आयोगका सदस्य डा. गुरुङ्ग

जनकपुरधाम । राष्ट्रिय योजना आयोगका सदस्य डा. दिल बहादुर गुरुङ्गले जनता आवास कार्यक्रम जनताको मन छुने देशकै राष्ट्रिय गौरवको कार्यक्रम भएकाले यसमा साधन श्रोतको अभाव हुन नदिने बताउनु भएको छ ।
आयोगका सदस्य डा. गुरुङ्गले प्रदेश नंं २ सरकारका उच्च पदाधिकारी तथा सरोकारवाला मन्त्रालयको अधिकारीहरुको सहभागितामा जनता आवास कार्यक्रम आन्तरिक मूल्यांकनका लागि जनकपुरधाममा आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।
उहाँले जनता आवास कार्यक्रम विपन्न, दिन दुःखिसँग जोडिएको कार्यक्रम भएकाले सरकारका अन्य कार्यक्रम भन्दा यो कार्यक्रम महत्वपूर्ण भएकाले सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो ।
आयोगका सदस्य डा. गुरुङ्गले प्रदेश नंं २ मा जनता आवासको कार्यक्रममा राम्रो काम भएकोले आफूले विभिन्न जिल्लाहरुको अनुगमनवाट अनुभूति गरेको बताउदै बजेटको अभाव हुन नदिने बताउनु भयो ।
प्रदेश नं २ को नीति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा व्यथितले योजनाको निर्माण गर्दा सम्बन्धित ठाउँको आर्थिक, सामाजिक तथा वातावरणीय अवस्थालाई दृष्टिगत गरेर काम गर्नु पर्ने बताउदै जनता आवास कार्यक्रममा थप बजेटको व्यवस्थापन जरुरी रहेको बताउनु भयो ।
उहाँले प्रदेश नंं २ को मानव सूचकांक निक्कै कमजोर रहेको र दलितको संख्या पनि अधिक मात्रामा भएकाले यस ठाउँको वातावरण अनुसार कार्यक्रमको सञ्चालन आवश्यक भएको बताउनु भयो ।
कार्यक्रममा सहभागी भएका अन्य अधिकारीहरुले जनता आवासको कार्यक्रमलाई समयानुकूल परिमार्जन गरेर स्थानीय सरकारको रुपमा रहेको पालिकालाई पनि समावेश गरेर थप लगानीका लागि वातावरण निर्माण गर्न जरुरी रहेको बताउनु भयो ।
जनता आवासको कार्यक्रमको प्रभावकारिता तथा यसमा गर्नु पर्ने सुधारका बारेमा प्रदेश नंं २ को आर्थिक योजना तथा विकास मन्त्रालयका सचिव काशीराज दाहाल, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव रामआधार साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.सम्झना काफ्ले पाण्डे सहितले विभिन्न सुझावहरु दिनु भएको थियो ।
संघीय सरकारले घर विहिन तथा गरिव एवं विपन्न वर्गका लागि ३ लाख ३६ हजार नगद प्रदान गर्दै आएको छ । आवासको डिजाईन तथा नीति पनि केन्द्रले नै निर्माण गरिदिएको छ ।








प्रतिक्रिया राख्नुहोस्