प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ शुक्रवार

काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथिको अर्को सुनुवाइ हेर्दाहेर्दैमा शुक्रवार हुने भएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदक तर्फका कानुन व्यवसायीको बहस जारी रहेकाले हेर्दाहेर्दैमा अर्को सुनवाइ शुक्रवार हुने भएको हो ।
रिट निवेदकका तर्फबाट बहस गर्नुहुँदै अधिवक्ता टीकाराम भट्टराई, ओमप्रकाश अर्याल, रिट निवेदक समृद्ध खरेललगायतले संविधानको मनसाय विपरीत प्रधानमन्त्रीले अन्य मुलुकको संसदीय अभ्यासलाई देखाएर प्रतिनिधिसभा विघटन गर्न नसक्ने बताउनुभयो ।
बहसमा कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन सम्बन्धी विषय राजपत्रमा सूचना प्रकाशित नभएको विषय उठाएपछि इजलासले सरकारी पक्षसँग राजपत्रको सूचना समेत मगाएको छ ।
संवैधानिक इजलासमा भइरहेको आजको बहस पनि बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्ने विषयले वैधानिकता पाउने कि नपाउने भन्ने विषयमा नै केन्द्रित रहेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले सो रिटमा आइतबारदेखि निरन्तर सुनुवाइ गरिरहेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा एकसाथ सुनुवाइ भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्