तपाईँ सुन्दै हुनुहुन्छः

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल प्राथमिकताका साथ निर्माण गरिने : मन्त्री ढकाल 

वीरगंज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले राष्ट्रिय गौरवको आयोजना भित्र पर्ने प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ ।
प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको स्थलगत अनुगमन र निरीक्षण पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री ढकालले सरकारले विमानस्थल निर्माण क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयलाई अलपत्र नपार्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल रहेको हुँदा यसलाई सरकारले पहिलो प्राथमिकतामा राखेर निर्माण कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वन क्षेत्रको क्षति कम हुने गरी अन्तर्राष्ट्रिय विमान स्थल निर्माण गरिने बताउँदै निजगढ काठमाडौँ फास्ट ट्र्याक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले प्रदेश २ को मात्र नभई समग्र देशको आर्थिक समृद्धिमा कोशेढुङ्गा साबित हुने बताउनु भयो ।
कार्यक्रममा टाँगिया वस्तीका स्थानीय बासिन्दाले विमानस्थल निर्माण कार्य अगाडी बढ्दा स्थानीय बिच अन्योल छाएको र हिजो बन जङ्गल जोगाउन सरकारले टाँगिया वस्ती बसाएको भए पनि अहिले बस्ती स्थानान्तरण तथा मुआब्जा दिन सरकारले आनाकानी गरेको भन्दै गुनासो व्यक्त गरेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल, वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले सहितको टोलीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चार किल्ला, राष्ट्रिय वन क्षेत्रभित्रको बस्ती र विमानस्थल आयोजना कार्यालयले बकैया खोलामा गरेको तटबन्धको समेत स्थलगत अनुगमन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button