जाजरकोटका पर्यटकीय स्थलहरू ओझेलमा

जाजरकोट । जाजरकोटका प्रमुख पर्यटकीय स्थलहरू संरक्षण तथा सम्वद्र्धन हुन नसक्दा ओझेलमा परेका छन् । पर्यटन सम्बन्धी कुनै पनि गतिविधि सञ्चालन नहुँदा दर्जनौँ स्थल ओझेलमा परेका हुन् ।
बारेकोट गाउँपालिका र जुम्लाको सिमाना क्षेत्रमा रहेका शंक दह, कुुकुर दह, कुशे गाउँपालिका र जुम्लाको सिमानामा पर्ने नदाइ ताल, वराताल मात्र होइनन्, बारेकोटको रापानी झरना लगायत दर्जनौँ पर्यटकीय आवश्यक प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो ।
जाजरकोट सदरमुकाम खलंगाबाट ८० किलोमिटर उत्तर पूर्वमा रहेको यस्ता ताल तथा झरना यातायातको असुविधाले गर्दा अहिले ओझेलमा परेको अध्यक्ष शाहको भनाइ छ । आफ्नै किसिमको छुट्टै प्राकृतिक छटा र सुन्दर मोहकले भरीपूर्ण यस्ता क्षेत्रको प्रचारप्रसार, संरक्षण एवं सम्वद्र्धन हुन नसक्दा अस्तित्व नै लोप हुने अवस्थामा पुगेका छन् । भौगोलिक विकटताका कारण सरोकारवालाको आँखामा पर्न नसक्नु यस्ता क्षेत्रको प्रमुख विडम्बना हो ।
धार्मिक दृष्टिले पनि यी क्षेत्र महत्वपूर्ण मानिदै गएका छन् भने स्थानीय सरकारले समेत बेवास्ता गरेको कुशेका दलबहादुर थापाको गुनासो छ । आन्तरिक तथा बाह्रय पर्यटनको आकर्षक गन्तव्य मानिए पनि कुनै पनि निकायबाट पहल हुन नसकेपछि ओझेलमा परेको थापाले बताउनुभयो । यस्ता क्षेत्रको संरक्षण सम्वद्र्धन तथा व्यवस्थापनमा सरोकारवालाले ध्यान पुराउन सके धार्मिक तथा पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्