युनेस्को अन्तर्राष्ट्रिय साक्षरता पुरस्कार हस्तान्तरण
काठमाडौँ । ज्येष्ठ नागरिकको शिक्षाका लागि निरन्तर क्रियाशील ‘एजिङ नेपाल’ नामक संस्थाले प्राप्त गरेको युनेस्को अन्तर्राष्ट्रिय साक्षरता पुरस्कार आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले हस्तान्तरण गर्नुभएको छ ।
शिक्षा मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले पुरस्कारको तक्मा ‘एजिङ नेपाल’का अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर) लाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा मन्त्री श्रेष्ठले ‘एजिङ नेपाल’ नामक संस्थाले प्राप्त गरेको पुरस्कारबाट नेपालको नाम विश्वभर थप चिनाउन मद्दत पुर्याएको बताउनुभयो ।
मन्त्री श्रेष्ठले ज्येष्ठ नागरिकलाई प्राविधिक शिक्षा दिनका लागि विज्ञहरूको सुझावका आधारमा नयाँ कार्यक्रम तय गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विश्वभरका ७६ संस्थाको प्रतिस्पर्धाबाट छानिएर ‘एजिङ नेपाल’ले पुरस्कार पाउनु मुलुकका लागि गौरवको विषय भएको बताउनुभयो ।
कार्यक्रममा पुरस्कृत संस्थाका अध्यक्ष गौतमले ज्येष्ठ नागरिकलाई आधुनिक सूचना प्रविधिसमेतको उपयोग गर्न सक्ने गरी साक्षर बनाउन सरकारी तवरबाटै अभियान सञ्चालन गर्न सरकारलाई आग्रह गर्नुभयो ।
‘युनेस्को मुख्यालय पेरिसको किङ सिजोङ साक्षरता पुरस्कार २०२०’ नामको सो पुरस्कारको राशि २० हजार अमेरिकी डलर रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्