भाक्कालको संस्थागत विकासका लागि सरोकारवालासंग छलफल

झापा । कोचिला गाभुर फ्रन्टले कोच राजवंशी समुदायको भाक्कालगायत खाना परिकारको संस्थागत विकासका लागि सरोकारवालासंग छलफल थालेको छ । गाभुर फ्रन्टको केन्द्रीय समितिले परम्परागत खाना परिकार भाक्कालाई राष्ट्रिय परिकारको रुपमा स्थापित गर्नेगरी विभिन्न पेशाकर्मी, नागरिक समाज, बुद्धिजिवी, सञ्चारकर्मी लगायतसँग छलफल थालेको हो ।
छलफलर अन्तरक्रियाबाट प्राप्त सुझाबका आधारमा कोच राजवंशीको भाक्कालगायत परिकारको विकास र प्रवद्र्धनका लागि नेपाल सरकारसंग अनुरोध गर्ने फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिनुभयो । फ्रन्टले आज दुर्गापुरमा नेपाल पत्रकार महासंघ झापासहित जिल्लाका पत्रकारहरुसंग अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा बोल्दै पत्रकार महासंघका कार्यबहाक अध्यक्ष एकराज गिरीले गाभुर फ्रन्टले आयोजना गर्दै आएको पौष २९ गतेको राष्ट्रिय भाक्का दिवस कार्यक्रम पश्चात भाक्का आदिवासी राजवंशीको मात्र नभई सबै जाति समुदायको साझा खानाको रुपमा स्थापित भएको धारणा राख्नुभयो । उहाँले मुलुकभित्र सम्भवत खाना परिकारको दिवसका रुपमा भाक्का दिवस पहिलो भएको भन्दै गाभुर फ्रन्टलाई बधाई समेत ज्ञापन गर्नुभयो ।
महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजीले भाक्काको संरक्षण र प्रवद्र्धनमा राजवंशी युवा जुटेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भाक्का परिकारको इतिहास खोज गरी थप परिस्कृत गर्नुपर्ने सुझाव राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्