तपाईँ सुन्दै हुनुहुन्छः

सेनाद्वारा कङ्गोमा २० हजार विस्थापितलाई आवास

काठमाडौँ  ।अफ्रिकी मुलुक कङ्गोमा तैनाथ नेपाली सेना शान्ति सैनिकको इञ्जिनीयर गुल्मले निकै छोटो समयमा ठूलो सङ्ख्यामा विस्थापित द्वन्द्वपीडितका लागि आवास निर्माण गरेर उदाहरण प्रस्तुत गरेको छ ।

त्यहाँको डिजुगु क्षेत्रबाट विस्थापित २० हजार जनतालाई बुनियास्थित मुजिपेला क्षेत्रमा नेपाली शान्ति सैनिकले छोटो अवधिमा विभिन्न संरचनासहितको आवास निर्माण गरी हस्तान्तरण गर्न सफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो गुल्मले गत जेठ १९ गतेदेखि अन्तर्राष्ट्रिय आप्रवास सङ्गठनको अनुरोधमा सात हेक्टर जमीनमा बाटो र वासस्थान निर्माण गरेको हो ।

यसअघि सन् २०१९ मा पनि उक्त गुल्मले सोही स्थानमा संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजार विस्थापितका लागि आवश्यक संरचना निर्माण गरी महत्वपूर्ण योगदान पु¥याएको थियो । नेपाली सेनाको यस कार्यको संयुक्त राष्ट्रसङ्घ शान्ति कार्यका प्रमुख, त्यहाँ तैनाथ शान्ति सैनिकका फोर्स कमाण्डर, गर्भनर र स्थानीयले मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । हाल सो गुल्मका गुल्मपति प्रमुख सेनानी सुरेश थापा हुनुहुन्छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button