वीरगञ्जबाट बेपत्ता दुई बालक भारतको पटनामा फेला
वीरगञ्ज । वीरगञ्जबाट बेपत्ता भएका दुई बालक आज अपरान्ह ३ बजे भारत विहारको पटनामा फेला सकुशल फेला परेका छन् ।
नेपाल प्रहरीको समन्वयमा भारतीय प्रहरीले उनीहरुलाई पटनामा फेला पारेको र हाल पटनास्थित जसनपुर पुलिस थानामा उद्धार गरी राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो ।
वीरगञ्ज विर्ता निवासी यातायात व्यावसायी जगरनाथ कलबारका १३ वर्षीय छोरा निवेश गुप्ता कलबार र दिपेश शर्माका १३ वर्षीय छोरा प्रमिश शर्मा घरबाट शनिबार बिहान ११ बजे बैडमिन्टन खेल्न निस्किएकोमा त्यपछि दुबै बालक बेपत्ता भएका थिए ।
बालकहरुलाई पटनास्थित जसनपुर पुलिस थानामा राखिएको र बालकहरुको अवस्था सामान्य रहेको जसनपुर थाना पटनाका प्रहरी इन्चार्ज अनिल कुमार सिंहले जानकारी दिनुभएको वडा प्रहरी कार्यालय विर्ता प्रहरी निरिक्षक पुरीले बताउनुभयो ।
सकुशल भेटिएका बालकलाई लिन वीरगञ्जबाट अपरान्ह ४ बजे नेपाल प्रहरीसँगै बालकका अभिभावक र आवश्यक कागजात लिएर पटनातर्फ टोली गएको पुरीले बताउनुभयो ।
बालकहरु किन र कसरी भारतको पटनामा भेटिए अनुसन्धानको विषय भएको र उनीहरुलाई नेपाल ल्याएपछि थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक कुँवरले बताउनुभयो ।
बालकहरुको परिवार उनीहरुको अपहरण भएको हुनसक्ने आशंका गरिरहेको बेला भारतको पटनाबाट बालकहरु सकुशल फेला परेपछि चिन्तित अभिभावकहरु खुसी भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्