स्तनपान कक्ष र अपांगमैत्री शौचालयसहितको वाटिका निर्माण हुँदै
चितवन । नारायणगढ मुग्लिनसडक अन्तर्गत रामनगरमा स्तनपान कक्ष र अपांगमैत्री शौचालयसहितको वाटिका निर्माण हुदैछ ।
गत असारबाट निर्माण कार्य शुरु भएको रामनगर पुष्पवाटिकामा हाल फलफूलको बगैचा, चिल्ड्रेन पार्क, वाटर फाउण्टेन, विश्रामस्थलको निर्माण कार्य सकिएको छ ।
राजमार्गमा हिड्ने यात्रु र चालकलाई लक्षित गरी उक्त वाटिका निर्माण गरिएको प्रमुख संरक्षक तारा कुंँवरले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर १ अन्तर्गत पर्ने सतनचुली सामुदायिक क्षेत्रभित्र पर्ने वाटिकामा बोटानिकल गार्डेन, कलात्मक पुल एवं वाटरफाउण्टेन लगायतका संरचना रहेका छन ।
करिब २ विघा क्षेत्रफलमा रहेको उक्त वाटिकाको काम तीब्र रुपमा भईरहेको छ । लामोदुरीका यात्रु, फरक क्षमताका व्यक्तिका लागि केहीबेर भएपनि थकान मेटाउने उद्देश्यले वाटिका निर्माण गरिएको कुँवरले बताउनुभयो ।
आगामी दिनमा स्तनपान कक्ष, अपांगमैत्री शौचालय, क्यान्टिन, योगअभ्यास स्थान समेत निर्माण गरिने प्रमुख संरक्षक कुँवरको भनाई छ ।
वाटिका निर्माणका लागि हालसम्म १६ लाख र एकहजार जनाको श्रमदान खर्च भइसकेको समितिका अध्यक्ष डिलकुमारी लामिछानेले बताउनुभयो । हालसम्म जनस्तर र दाताबाट रकम जुटाएको भन्दै उहाँले थप संरचना निर्माण गर्न कठिन भएको बताउनुभयो ।
हाल उक्त बाटिकामा तीन जना हेरालुले काम गर्दै आएका छन । उक्त बाटिका नारायणगढबाट करिब ५ किलोमिटर मुग्लिनतर्फ पर्दछ ।








प्रतिक्रिया राख्नुहोस्