प्रतिनिधिसभा विघटनबाट उत्पन्न परिस्थितिका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले प्रतिनिधिसभा विघटनबाट उत्पन्न परिस्थितिका विषयप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
सांसद नारायणकाजी श्रेष्ठले पार्टीको अन्तरिम कारणले जनताको सङ्घर्षबाट आएको संविधान विपरीत काम गर्ने अधिकार कसैलाई पनि नभएको बताउनुभयो ।
उहाँले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप समेत लगाउनुभयो ।
सांसद तारादेवी भट्टले कोरोना जस्तो महामारीको सामना गर्ने तर्फ नलागी सरकार ढलाउने संसद् विघटन गर्ने र कुर्सीको हानथाप गर्ने तर्फ देश अगाडी बढेको भन्दै सरकार समेत जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाउनुभयो ।
प्रतिपक्ष दलका तर्फबाट सांसद रमेशजंग रायमाझीले सरकारको आलोचना गरेको नभई लोकतान्त्रिक बाटोमा आउन र सच्चिन आग्रह गरेको स्पष्ट पार्नुभयो ।
उहाँले लोकतन्त्र, सङ्घीयता र संसद्को इज्जत जोगाउन पनि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिनुको विकल्प नरहेको बताउनभयो ।
सांसद देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन भएर नयाँ निर्वाचन घोषणा भएको अवस्थामा प्रतिपक्ष र सत्ता पक्षका केही नेताहरू विभिन्न बाहान झिकेर नयाँ जनादेश मा जान खुट्टा कमाइरहेको आरोप लगाउँदै अव निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभयो ।
बैठकमा सांसदहरुले पद तथा विभिन्न ओहोदामा रहेका महिलाहरू माथि अपशब्दहरू प्रयोग भइरहेको प्रति आपत्ति समेत जनाउनुभयो ।
राष्ट्रियसभाको आजको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारदेवी भट्टले समितिको वार्षिक प्रतिवेदन २०७६/०७७ सभा समक्ष पेस गर्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक पुस २६ गते (आइतबार) दिनको १:०० बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्